काठमाडौँ । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा भइरहेको विश्व पुलिस फायर गेम्समा दोस्रो स्वर्ण जितेका छन् ।
चीनको चान्दुकमा जारी प्रतियोगिताको १० किलोमिटर क्रस कन्ट्री स्पर्धाको स्वर्णका लागि निमेशले ६० देशका ७० प्रतिस्पर्धीलाई पछि पारे ।

सिंगापुर पुलिसमा आबद्ध भए पनि गुरुङको नेपाली पासपोर्ट भएका कारण पदक विजेता सूचीमा उनको परिचय नेपाली नै उल्लेख छ । उनले यसअघि शुक्रबार भएको हाफ म्याराथनमा पनि स्वर्ण जितेका थिए । क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो तथा आयोजक चीनको खेलाडी तेस्रो भए । निमेशले दुई वर्षअघि अमेरिकाको लस एन्जलसमा भएको विश्व पुलिस फायर गेम्समा पनि यी दुवै विधामा स्वर्ण पदक जितेका थिए ।

सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश सिंगापुरको घरेलु प्रतियोगितामा स्थापित धावक हुन् । सिंगापुरमा हुने मध्यम दूरीका प्रायः प्रतिस्पर्धा जितिसकेका निमेशले त्यहाँको राष्ट्रिय च्याम्पियनलाई समेत पराजित गरिसकेका छन् ।