इलाम। इलामको नयाँ पर्यटकीय गन्तब्य बनेको छ, दिदी बहिनी झरना । इलाम नगरपालिका वडा नं. ३ साविक पुवामझुवा गाउँ विकास समिति वडा नं. ७ र ८ मा पर्ने महविर खोलाका दुई झरनाले पर्यटकहरुलाई आकर्षण गर्न शुरु गरेको छ ।

नजिकैको दूरीमा मनमोहक दुई झरना छन् । तर, प्रचार प्रसारको अभावमा ओझेलमा पर्दा बाहिरकाको त कुरै छोडौं जिल्लाभित्रका धेरैलाई थाहै छैन झरनाबारे । गएको आर्थिक वर्षमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले २० लाख लगानी गरेर पर्यटक हिँड्ने रेलिङसहितको गोरेटो, गोल घर निर्माण गरेपछि यसले पर्यटकीय स्थलको पहिचान बनाउन शुरु गरेको छ ।

इलाम सरमुकामबाट करिब २० किलोमिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । त्यहाँबाट अढाई किलोमिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । नजिकैको दूरीमा दुई झरना भएकैले दिदी बहिनी झरना नामाकरण गरिएको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राई बताउँछन् ।

करीब ८० मिटरको उचाईको दुई झरनाहरु आफूलाई सुन्दर देखाउने प्रतिष्पर्धामा हतारोमा झरिरहेको जस्तो देखिन्छन् । चिसो मौसम, झरनाबाट हावासँगै मिसिएको पानीले दिने चिसोपनसँगै झरनाको नजिकैबाट यसको सौदर्य नियाल्नुको मजै बेग्लै हुन्छ । अझ यो बर्खायाममा त एकैछिन कुहिरोको पर्दामा दुवै झरना लुक्छन् । यतिबेला झरनाको छङ्ग छङ्ग नेपथ्यमा आउने आवाज संगीतको धुनभन्दा कम हुन्न ।

कुहिरोसँग लुकारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमन पनि शुरु भइसकेको छ । प्रचार प्रसार र आवश्यक पूर्वाधार विकासको अभावमा धेरैको घुम्ने सुचीमा दिदी बहिनी झरना अटाइसकेको छैन । तर, प्रचार–प्रसार हुने र त्यहाँसम्म पुग्ने सडक सुधार हुने हो भने लेकाली मौसममा दिदी बहिनी झरनाको सुन्दरतालाई नजिकबाट नियाल्न आउने भीड बढ्ने देखिन्छ ।

अझ झरना नजिकै स्थानीय अग्र्यानिक खानपिन उपलब्ध गराउने हो भने रोजाईको गन्तब्य बन्न सक्छ । भर्खरैदेखि लागेको संरक्षण समितिले यसलाई अझ मनमोहक बनाउने योजना बुनिरहेको छ । यसको विकास र प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्याएको छ ।