ताप्लेजुङ । लडेर र खोलाले बगाएर दुई दिनमा तीन महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिरिजंघा ४ तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिका ३ हाङपाङ र पाथीभरा याङवरक गाउँपालिका १ थुम्वेदिनमा मृत्यु भएको हो ।

तेल्लोक निवासी ४७ वर्षीया सिता भट्टराई छिमेकी पूर्ण पराको घरमा घिउ पुर्‍याउन गएर फर्कने क्रममा नागदेव खोलाले बगाउँदा मृत्यु भएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई खोला किनारमा मृत भेटिएको थियो ।
यस्तै, हाङपाङ मिचिरिङको गोरेटो बाटोमा हिँड्ने क्रममा लडेर घाइते भएकी बन्दिका आङबुहाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेकी उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो ।

यता, थुम्वेदिनको मित्तेला कुवामा पानी भर्न गएकी ६७ वर्षीय भरिमाया भण्डारीको पनि लडेर मृत्यु भएको छ । लडेर बेहोस अवस्थामा भेटिएकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए