शंकर थापा,

खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । नेपाली काँग्रेस नेतृत्वको सरकारमा उहाँ युवा तथा खेलकुद मन्त्री बन्नु भयो । उहाँले नै मलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएको हुँ । त्यही पार्टी र जनवर्गीय संगठनमा आवद्धताका कारण मैले त्यो अवसर पाएको हो ।

कार्यकाल सम्झिँदाः
मेरो अध्यक्षतामा रहेको जिल्ला खेलकुद विकास समितिको चार वर्षे अवधि अत्यन्त उपलब्धिमूलक रहेको अनुभूति गरेको छु । नियुक्ति लिएसँगै आफ्नो काम र कर्तव्यप्रति मेरो ध्यान केन्द्रित बन्यो । जिल्लाको खेलकुद गतिविधिलाई उचाईमा पुर्याउन र खेल पूर्वाधारको विकासका लागि तल्लीन बनेँ । नियुक्ति पत्र पाउँदै गर्दा यी विषयमा सोच्दै योजना निर्माण गर्न सुरु गरेको थिएँ ।

समितिसँग आवद्ध जिल्लाका विभिन्न क्लब र खेल सम्बद्ध संघसंस्थाहरुलाई सक्रिय बनाउन लाग्यौं । खेल क्षेत्रको काँचुली फेर्नेगरिको खाका तयार गर्न क्लब र संघका पदाधिकारी र सदस्यहरुसँग अन्तरक्रिया गर्यौं । प्राप्त सकारात्मक सल्लाह र सुझावलाई आत्मसात गर्दै कार्यान्वयनतर्फ लाग्यौं ।

जिल्लाको खेलकुदमा भिन्न इतिहास रच्न खेलाडीको खानी मानिने विद्यालय र क्लबमा प्रवेश गर्यौं । गाउँबस्ती र दूरदराजमा ओझेलमा परेका प्रतिभाको प्रस्फुटन गराउन विद्यालयका प्रधानाध्यापक र खेल शिक्षकसँग परामर्श गर्यौं । छलफलबाट आएका सुझाव र गुनासालाई उचित सम्बोधन गर्ने बाचा गरयौं । कस्तो योजना अघि सार्दा विद्यालयले प्रतियोगितामा विद्यार्थी पठाउँछन् र खेलाडी उत्पादन हुन्छन् भन्ने मेरो एकमात्र ध्येय थियो ।

सामुदायिक विद्यालयका अत्यन्त मार्मिक गुनासाहरु थिए । वर्षभर प्रतियोगिता गराउन गाह्रो पर्छ, खेल सामग्री किन्ने बजेट हुँदैन, समितिले ठोस योजना बनाओस् र प्रतियोगिता गराउन सहयोग गरोस् भन्ने सुझाव थियो । हामी यो विषयमा गम्भीर भयौं र बृहत् भेला गरायौं । प्रधानाध्यापक, खेल शिक्षक, समिति र प्राविधिकले सामुहिक हस्ताक्षर गरी मन्त्रालयमा पत्राचार गर्यौं । मन्त्रीज्यू झापा आएका बेला मन्त्रालयका सचिव र राखेप सदस्य सचिवलाई यो विषय अवगत गरायौं । त्यसपछि राखेपले वार्षिकरुपमा प्रत्येक विद्यालयलाई खेल सामग्री खरिद गर्न १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गर्यो । निर्णय कार्यान्वयन पछि विद्यालयलाई रकम प्रदान गरेसँगै खेलप्रति विद्यार्थीको उत्साह बढ्दै गयो ।

विद्यालयहरुले हरेक प्रतियोगितामा खेलाडी पठाउन थाले । त्यो मेरा लागि खुशीको विषय थियो । हाम्रो जिल्लाले गरेको आग्रहलाई स्वीकार्दै राखेपले देशका ७७ वटै जिल्लामा यो निर्णय लागू गरेको खबर सुन्न पाउँदा खुशीको सीमा नै रहेन । सबै सरकारी विद्यालयले यो रकम बुझ्दै आएका छन् र विद्यालय खेलकुदमय बनेको छ । यो कामले मलाई आत्म सन्तुष्टि प्राप्त भएको छ ।

चार वर्षका सफल कामः

राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकाललाई स्वर्णिम कालका रुपमा स्थापित गर्छु भन्ने प्रण गर्नुभएको थियो । त्यो लक्ष्य देशभरका समितिका लागि प्रेरणाको स्रोत बन्यो । उहाँको त्यो उद्देश्यलाई साकार बनाउने हामीले संकल्प गर्यौं । सदस्य सचिवको योजनाले समग्र खेलजगत तरंगित बन्यो र, हामीलाई पनि उर्जा मिल्यो । स्वर्णिम कार्यकालका पनि आधारभूत मापदण्ड छन् ।

हरेक प्रतियोगिता तोकिएको समय सीमाभीत्रै हुन जरुरी छ । त्यसका लागि राष्ट्रिय प्रतियोगिता प्रत्येक दुई वर्षमा हुनुपर्छ । साग गेम प्रत्येक २ देखि ४ वर्षको अन्तरालमा हुनैपर्छ । सदस्य सचिव प्रतियोगितालाई निर्धारित समयावधिमा सफलतापूर्वक सम्पन्न गराउन कहिँ कतै पनि चुक्नु भएन । नेपाली खेलकुद इतिहासमा उहाँले ऐतिहासिक कालखण्ड रच्नु भो भन्ने मूल्याङ्कन गरेको छु ।

हाम्रो कार्यकालमा २ वटा राष्ट्रिय प्रतियोगिता, ४ वटा राष्ट्रपति रनिङ शिल्ड, २ वटा उपराष्ट्रपति चिल्ड्रेन गेम, २ वटा राखेप च्याम्पियनशीप सम्पन्न भए । केशवकुमार विष्ट सदस्य सचिव बनेपछि राखेप च्याम्पियनशीप थपियो । हाम्रै कार्यकालमा राखेपले उपराष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको नाममा प्रतियोगिता सुरु गर्यो । त्यसकारण अत्यधिक प्रतियोगिता गर्न पाइयो र प्रशस्त अनुभव बटुल्न पनि पायौं ।

प्रतियोगिता धेरै हुँदा खेलाडीको नजिक पुग्न पायौं र खेलाडीका समस्या बुझ्ने अवसर मिल्यो । हरेक प्रतियोगिता समयमै गर्न पाउँदा ठूलो सफलता हात लागेको महसुस गरेको छु । यो सफलताबाट सिङ्गो जिल्ला खेलकुद विकास समिति गौरवान्वित छ ।

आठौं राष्ट्रपति रनिङ शिल्डको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा सबैभन्दा धेरै मेडल झापाले प्राप्त गर्यो । राष्ट्रिय र प्रदेशस्तरीय उक्त प्रतियोगितामा झापाले ११४ वटा मेडल प्राप्त गरेको छ । अरु मेडल नआउने खेल हुन्छन् । ती स्वतः क्वालिफाई भएका टिमले मेडल पाउँदैनन् । ती खेलको गणना हुँदैन । त्यो पनि गणना हुने भए प्रदेशमा झापाले करिब डेढ सय गोल्ड मेडल पाउँथ्यौं । हाम्रो कार्यकाल स्वर्णिम बन्ने आधार यी पनि हुन् ।

खड्किएको विषयः

जिल्लाले गाउँबस्तीमा ओझेलमा परेका खेलाडीको प्रतिभालाई उजागर गर्नुपर्छ । दूरदराजका खेलाडीलाई योग्य बनाएर पठाउँनु पर्छ । ती खेलाडीले विद्यालय, स्थानीय तह, जिल्ला, प्रदेशमा छनौट हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न पुग्छन् । १८ वर्ष ननाघेका १२ कक्षासम्म पढ्ने ती विद्यार्थीहरु राष्ट्रिय खेलाडी बनेपछि १० देखि १५ वर्षसम्म स्प्रिटका साथ खेल्न सक्छन् । त्यस्ता प्रतिभावान खेलाडीहरुलाई नेशनल क्वालिफाई भएपछि राज्यले भरणपोषण, पढाई खर्च, सेवा सुविधासहित एकेडेमीमा राख्नुपर्छ ।

तर, दूर्भाग्य त्यो सुविधा खेलाडीले अहिलेसम्म पाउन सकेका छैनन् । सदस्य सचिवले योजनामा पार्नु पनि भएको थियो । तर, विडम्बना लागू हुन सकेन ।
त्यस्ता खेलाडीहरु फेरि नेशनल क्वालिफाई भएर पनि गाउँ घरतिरै फर्कन बाध्य छन् । यो दुःख लाग्दो विषय हो र मेरो लागि एकदमै पीडाको विषय पनि ।

खेलाडीलाई घर पठाउँदा उनीहरुको मनोबल घट्छ र प्रतिभाशाली खेलाडी लोप भएर जान्छन् । नेशनल क्वालिफाई भएका खेलाडीलाई क्याम्पमा राख्ने व्यवस्था हुन अति आवश्यक छ । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर आएका खेलाडी र प्लेनमा आएको टिमलाई माला, खादा, अविर लगाई दिने, खेल्न जाँदा माला लगाएर पठाउँदा मात्र खेलाडीको स्तरवृद्धि हुँदैन । खेलाडीको मनोबल बढ्दैन ।

चाहेर पनि गर्न नसकिएका कामहरुः

झापामा सम्भावनायुक्त २-४ वटा खेलका एकेडेमी हल बनाउने र सञ्चालन गर्ने योजना थियो । बच्चाहरु खेलकुदसँग जोडिएपछि, उनीहरुलाई खेलकुदमा संलग्न गराएपछि पढाई खस्किन्छ । पढाईलाई पनि सघाउ पुर्याउने गरी एकेडेमी सञ्चालन गर्नसक्ता उत्तम हुन्थ्यो । खेलकुदमा भविष्य बनाउने उद्देश्य लिएका खेलाडीलाई क्वालिफाई गरी राख्न सकेको भए जिल्लाको गरीमा बढ्थ्यो । तर, त्यो चाहिँ हामीले गर्न सकेनौं । सोच त राख्यौं तर, समय अभावले टुङ्गोमा पुर्याउन असम्भव भयो । भावी नेतृत्वले यस विषयमा सोच्ने छ भन्ने ठानेको छु ।

अर्को विषय, लखनपुरस्थित खेलकुद मैदानलाई मदन भण्डारी रंगशाला भनी नामाकरण गरियो । त्यसले विवाद पनि निम्त्यायो । स्थानीय साथीहरुबाट नामको विषयलाई लिएर विरोध भयो । पछि मदन भण्डारी आदिवासी रंगशाला भनी नाम परिवर्तन भयो पनि । तर विवाद मिल्न सकेन । छलफलमार्फत् सो विषयलाई टुङ्गोमा पुर्याउन नसक्नु पदीय जिम्मेवारी एवम् नैतिकताका आधारमा म अपजसको भागिदारी रहनेछु । रंगशाला बनाउन सकिएको भए हाइवेसँग जोडिएको, चारैतिरको सेन्टर, पर्याप्त पार्किङको सुविधा र हरियाली ठाउँसहितको रंगशाला बन्ने थियो । त्यसलाई व्यवस्थित गर्ननसक्दा मलाई दुःख लागेको छ ।

भौतिक विकास र खेल प्रगतिः

झापा खेलकुदका दृष्टिले उर्वरभूमि हो । आफैंमा एउटा ऐतिहासिक जिल्ला पनि हो । झापाली माटोले खेल क्षेत्रका हस्तीहरु जन्माएको छ । यहाँबाट ओलम्पियन, एशियन मेडलिस्ट, इतिहास रच्ने खेलाडी उत्पादन भएका छन् । त्यसैले, झापा खेलकुदमा अब्बल छ । झापाका लागि खेल पूर्वाधार महत्वपूर्ण आवश्यकता हो । जिल्लामा सरकारी स्वामित्वको एकमात्र मेची रंगशाला हो । अरु छैनन् । अरु कभर्ड हलहरु पनि छैनन् । त्यसलाई व्यवस्थित बनाउँदै खेलाडीलाई सहज वातावरणमा खेल अभ्यास गराउन खेल पूर्वाधार निर्माण गरेका छौं ।

झापाका ७५-८० वटा विद्यालयसँग सम्झौता गरी त्यहाँ उत्पादित खेलाडीहरुले खेल्न पाउनुपर्छ । पढाई र परीक्षालाई असर नगर्ने गरी जिल्लाले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउनुपर्छ भनेर विभिन्न ठाउँमा १० देखि ५० लाख रुपैयाँसम्म बजेट लगानी गरेका छौं । खेल संरचना निर्माण भएका छन् । विद्यालय र जग्गादातासँग सम्झौता गरी खेललाई गति प्रदान गर्न महत्वपूर्ण काम भएका छन् । चौपायाको चरन क्षेत्रलाई घेराबारा गरेर पनि खेल मैदान बनाएका छौं, खाल्डाखुल्डी पुरेका छौं ।

खेल विधाका उपलब्धिः

हाम्रो कार्यकालमा जिल्लामा खेलकुदका धेरै गतिविधिहरु भए । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जिल्लाले बनाउने कुरा होइन । त्यो त राज्यको दायित्व हो । समितिले जिल्लाबाट खेलाडी बनाएर पठाउने हो । । हामी नेतृत्वमा आउँदै गर्दा १२÷१३ वटा खेल विधामा खेलाडी पठाएका थियौं । हामी आएपछि २४ वटा खेल विधामा खेलाडी पठाएका थियौं । स्विमिङको लागि जिल्लामा प्रशिक्षक छैनन्, प्रशिक्षण केन्द्र छैन र प्रशिक्षण हुने कुरै भएन तर हामीले स्विमिङ पनि थप गरेका थियौं ।

सबै खेलाडीसम्म नपुगे पनि खेलाडी उत्पादन भएका अधिकांश विद्यालय पुगेको छु । उनीहरुका समस्या बुझेर कतै बल, नेटलगायत खेल सामग्री वितरण गरेको छु । झापाका हरेक कुनाकाप्चामा खेलकुद गतिविधि हुनुपर्छ भन्ने अभिप्रायले एवम् बालबालिकालाई निरोगी बनाउने ध्येयले काम गरियो । विद्यालय र विद्यालय बाहिरबाट उत्पादन भएका आशलाग्दा खेलाडी राज्यमा जान्छन् । राष्ट्रका लागि मात्र खेलाडी उत्पादन गर्ने नभई हाम्रो सोच भनेको खेलकुदसँग जोडिएका व्यक्ति स्वस्थ हुन् भन्ने छ । भोलि राष्ट्रको नेतृत्व गर्ने तिनै विद्यार्थी भएकाले त्यसप्रति चिन्तित भएर खेलाडी उत्पादन गर्न हामी अहोरात्र खटेका थियौं ।

सम्मान र पुरस्कार:

खेल क्षेत्रमा काम गरेर खेललाई माया गर्नेहरुको मन जितेर साथ र सहयोग प्राप्त गर्दै हामी निरन्तर अघि बढ्यौँ । प्रदेशका १४ वटा जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिबाट झापा पुरस्कृत भयो । धेरै साथीहरुबाट बधाई र शुभकामना पायौं । त्यसले व्यक्तिगतरुपमा मलाई थप उर्जा मिल्यो । अझ लगनशील भएर अघि बढ्नुपर्छ भन्ने प्रेरणा पाएँ । मेरो अनि हाम्रो जिल्लाको मूल्याङ्कन भएछ भन्ने सम्झिएँ ।

त्यसपछि काभ्रेको धुलिखेलमा राखेपले ७७ वटै जिल्लाको भेला आयोजना गर्यो । तीन दिने भेलामा खेल गतिविधि, खेल पूर्वाधार, अनुशासन लगायत विभिन्न विधामा मूल्याङ्कन समितिले मापदण्ड निर्धारण गरेको थियो । हरेक जिल्लाको रिपोर्टिङ बुझाउने क्रममा झापालाई उत्कृष्ट घोषणा गरियो । त्यतिखेर ठूलो सफलता हात लागेको अनुभूति गरेँ ।

राखेपले ताम्रपत्रसहित नगद ३ लाख रुपैयाँले सम्मान गर्दा अत्यन्त खुसी भएँ । नगद पाएर होइन मलाई ताम्रपत्रले सम्मान गर्दा गर्व लागेको छ । उत्कृष्ट जिल्ला र अध्यक्षको रुपमा प्राप्त सम्मानसहित पाएको रकमले जिल्लामा केही गर्छु भन्ने सोच पलायो ।

राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त पुरस्कार रकम भानु साहित्यिक प्रतिष्ठानसँगको सहकार्यमा हरेक वर्ष जिल्लाका एकजना उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने गरी अक्षयकोषमा राखिएको छ । उक्त रकमको ब्याजबाट २०७७ सालदेखि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

शपथ ग्रहणअघि नै सामाजिक काम:

२०७२ साउन १२ गते मलाई खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको थियो । नियुक्ति भए पनि शपथ ग्रहण भने भएको थिएन । जिल्लालाई खेलमय कसरी बनाउने भन्ने सोचमा रहेकै बेला एउटा दुःखलाग्दो घटना भयो । खुदुनाबारीको एउटा विद्यालयका सम्पूर्ण विद्यार्थीको घरबार बाढीले बगाएको कुरा सुनाइयो । विद्यार्थी नेता देशबन्धु ढुंगेलले सोबारे जानकारी गराउनु भयो । त्यस्तो विपत्तिमा तपाईंले केही गर्न सक्नुहुन्छ कि भनेर उहाँले आग्रह गर्नुभयो ।

नेपाल खेलकुद महासंघ पनि छ । महासंघ र खेलकुद विकास समितिको व्यानरमा थोरबहुत तुरुन्तै केही सहयोग हुन्छ कि भन्नुभयो । प्रधानाध्यापक रामकुमार अछामी सर र व्यवस्थापन समितिसँग बसेर कुरा गर्दा सम्पन्न परिवारका बालबालिकालाई परेन, जो विपन्न छन् उनीहरुलाई पोशाक, स्कुल ब्याग, स्टेशनरी दिने सल्लाह भयो । बाढीले घर बगाएका, किताब, कापी, पोशाक नभएर बिचल्ली भएका ११० जनालाई सामग्री व्यवस्थापन गरेर सदस्य सचिव केशव विष्टको उपस्थितिमा वितरण गरियो । त्यो महत्वपूर्ण कामको सुरुवात थियो ।

मेरो टिम र स्पिरिट:

हामी खेलकुद विकास समितिमा गयौं केही दिनपछि उपाध्यक्ष आउनु भो । त्यसपछि सदस्यहरु । नेपाली काँग्रेसबाट प्रधानमन्त्री र तत्कालीन नेकपा एमालेबाट खेलकुद मन्त्री । काँग्रेस सम्बद्ध भेषराज भण्डारी ९प्रशान्त० समितिको उपाध्यक्ष हुनुभयो । उहाँ खेल क्षत्रकै हुनुहुन्छ, करातेका पूर्व खेलाडी । राजनीतिक वैचारिक धरातल भिन्न भएपनि उहाँको मनोभावना भने उच्च छ । म उहाँप्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । खेल स्वतन्त्र क्षेत्र हो । राजनीति मिसिनुहुन्न भन्नेमा सिंगो कार्यसमिति एक मत थियो । यो एकता नै हाम्रो सफलताको संकेत थियो ।

विकास समिति र प्राविधिकको बैठक बस्यो । हामीलाई उहाँहरुले स्वागत गर्नुभयो । मदन उप्रेती, कालु मेचे, कृष्ण बस्नेत लगायत केही सिनियर प्रशिक्षकहरुसँग मेरो चिनजान भए पनि अन्यसँग नयाँ परिचय भयो । खेल क्षेत्रमा लाग्ने मौकाले त्यो अवसर जुराइदियो । त्यो संयोगलाई शक्तिमा रुपान्तरण गर्ने मैले अठोट लिएँ । मैले हामीलाई काम गर्ने वातावरण बनाइदिनुस्, कार्यकाल सफल बनाउन सहयोग गर्नुस्, तपाईंहरुका लागि हामी छौं भनेँ । ताली बजाएर स्वागत गर्दै उहाँहरुले समितिको सफलताका लागि सक्दो सहयोग गर्छौ भन्ने बचन दिनुभयो । दिएको जिम्मेवारी पूरा गर्छौं भन्नुभयो । भरपुर सहयोग पनि पायौं । सहयोग नभएको भए कार्यकाल सफल हुन असम्भव थियो ।

कार्यालय प्रमुख टहलदाश मैनालीको लामो अनुभव, योग्यता, क्षमता र दक्षताका आधारमा नडग्मगाई स्वच्छ वातावरणमा लगनशील भएर सहयोग प्राप्त भयो । उहाँलाई म कहिल्यै बिर्सन सक्दिन । म अब खेलकुदको सरकारी निकायमा नरहे पनि जीवनभर खेल क्षेत्रमै रहन्छु । मेरो नशानशामा खेलकुद पसेको छ । यो चार वर्षे अवधिमा मेरो मन मस्तिष्कमा खेलकुद पस्यो ।

यो क्षेत्रबाट अब म अलग रहन सक्दिन । ७७ वटै जिल्लाका खेलाडी, प्रशिक्षक, खेलसँग सम्बद्ध व्यक्तित्वहरुसँग मेरो परिचय स्थापित भयो । त्यसलाई मैले अमूल्य सम्पत्तिका रुपमा ग्रहण गरेको छु । मेरो जिल्लालाई चलायमान बनाउन टिम र कर्मचारीबीचको सहकार्य महत्वपूर्ण थियो ।

नयाँ नेतृत्वलाई मेरो सन्देशः

सरकारको विधि, विधान र नियमअनुसार सबै क्षेत्रमा काम गर्ने पदावधि तोकिएको हुन्छ । जिम्मेवारी सम्हालेपछि अवधिभर काम गर्ने हो । जिम्मेवारीबाट अलग्गिँदै गर्दा मैले भ्याएसम्मको काम गरेँ । आफूले गर्नुपर्ने कर्तव्य पूरा गरेँ भन्ने लाग्छ । केही काम अधुरो रह्यो । जिम्मेवारीमा रहँदा आफू केही नगर्ने अनि फलानाले चाहिँ केही पनि गरेन भन्ने चलनको अन्त्य गरेका छौं ।

आफू रहँदा गर्ने र अरुले पनि गर्नुपर्छ भन्ने संस्कारको सुरुवात गरेका छौं । झापाले अब चुस्त दुरुस्त, चलायमान र उर्जाशील युवाको नेतृत्व पाउँछ भन्नेमा म विश्वस्त छु । नेतृत्व कला भएको व्यक्तिले नै अवसर पाउने गर्छन् र पाउनु पर्छ पनि । भावी नेतृत्वलाई कार्यसफलताको शुभकामना व्यक्त गर्दछु । हामीले जे जति गर्न सक्यौं, गर्यौं । अब तपाईंहरुले अपूरा र अधुरा कामलाई अगाडि बढाउँदै नयाँ सोच र उमंगका साथ कार्यसम्पादन गर्नुहुन्छ भन्नेमा आशावादी छु ।

राखेपले हिंसाजन्य गतिविधिबाट जोगिने उपाय सिकाउन देशव्यापी अभियानका रुपमा अघि बढाएको महिला र बालबालिकाका लागि अत्यन्त उपयोगी ‘सेल्फ डिफेन्स’ तालिमलाई भावी नेतृत्वले निरन्तरता देओस् भन्ने कामना गर्छु । म स्वयम् सेल्फ डिफेन्स संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष भएकाले जिल्ला खेलकुद विकास समितिकोलाई आवश्यक सहयोग गर्नेर्छु ।

झापासहित देशभरका विद्यार्थीमाझ यो अभियान लिएर पुग्छु । हामीले ४ वर्ष पूरा गरेर जाँदै गर्दा अर्को ४ वर्षका लागि आउँदै गरेको नयाँ नेतृत्वको स्वागत गर्ने वातावरण भइदिने हो भने स्वागत र विदाई एकै दिन, एकै स्थानमा हुन पाए १ अझ सुनमा सुगन्ध थपिने थियो । अन्तमा सबै खेलप्रेमी, विभिन्न खेलका संघ–संस्थाहरु एवम् सम्पूर्ण खेलाडीहरु सहित राजनीतिक दल, विद्यालय, सामाजिक संस्थाहरुमा आभारसहित धन्यवाद ज्ञापन गर्दछु । जय खेलकुद ।

(जिल्ला खेलकुद विकास समिति झापाले प्रकाशन गरेको ‘खेलकुद’ स्मारिकामा निवर्तमान अध्यक्ष थापाका अनुभव र अनुभूतिहरु ।)