झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

सोमबार बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय (७, ८ र ९) मा समेत बम विष्फोट भएको थियो । विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका थिए ।