बिर्तामोड । दसैँ छेक पारेर बिर्तामोडको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ । असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो ।

विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुने मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । आयोजकका प्रवक्ता अविनाश राईले प्रदेश १ मै प्रतिष्ठित गोल्डकपको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए ।

‘झापामा फुटबललाई अझ चलयमान बनाउने सन्र्दभमा हामीले पनि एउटा इँटा थप्ने प्रयास गरेका हौँ’, उनले भने, ‘त्यही अनुसार हामीले गोल्डकपको तयारी तीव्र पारेका छौँ ।’ प्रतियोगितामा २ विदेशी टोली रहने भनिए पनि बंगलादेशसँग पनि सहभागिताका लागि कुरा भइरहेको उनको भनाइ छ ।

बंगलादेशको सहभागिता नभएको खण्डमा नेपालका पाँच वटा ए डिभिजन क्लबको सहभागिता रहने आयोजकको भनाइ छ । आयोजकका तर्फबाट एउटा टिम रहने पनि आयोजकले जानकारी दिएको छ । तर, सहभागी टिमको बारेमा भने केही खुलाइएको छैन ।

विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताको उपविजेतालाई छ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने भएको छ ।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रायोजकको खोजी भइरहेको बताइयो ।
कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले यो प्रतियोगिता क वर्गको स्तरीय खेलअनुरुपको भएको बताए । झापा फुटबल संघको सहमति र एन्फाको अनुमतिमै प्रतियोगिता गर्न लागिएकाले सबैले सहयोग गर्न उनले अपिल पनि गरे ।

हरि खड्का ब्राण्ड एम्बासेडर
पत्रकार सम्मेलनमा गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासेडर नियुक्त गरिएको जानकारी दिइयो । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रशिक्षक खड्काले प्रतियोगितामा ब्राण्ड एम्बासेडर राखेको सम्भवतः पहिलोपटक भएको बताए । ‘नेपालमै पहिलोपटक हुन सक्छ, यस्ता कार्यले अन्य फुटबल प्रतियोगिता आयोजकलाई एम्बासेडर राख्न सहयोग पुग्छ’, उनले भने ।

सम्झौतामा आयोजकले २ लाख रुपैयाँ दिने सहमति भएको प्रशिक्षक खड्काले जानकारी दिए । सोही समयमा उनले आफूले पाउने रकमबाट एक लाख रुपैयाँ आयोजकलाई सहयोग प्रदान गर्ने घोषणा गरे । ‘यो रकम अलिक धेरै नै भयो, आयोजकलाई अन्याय हुन्छ त्यसैले आधा रकम सहयोग गरेको हुँ ।’ गोल्डकप सफल पार्नका लागि उनले सबैमा सहयोगको आह्वान पनि गरेका छन् ।

कार्यक्रममा क्लबका सचिव महेन्द्र पाण्डेले स्वागत गरेको कार्यक्रममा सहयोगी संस्था कुरुम्बाङ होलो ब्लक अर्जुनधाराका सञ्चालनक मणिकुमार राईलगायतको उपस्थिति रहेको थियो ।