काठमाडौं । फिफा विश्वकप २०२२ को एसियाली छनौटको दोस्रो चरणतर्फको छनौट खेलमा नेपाल र अष्ट्रेलिया क्यानबेरामा भिड्ने निश्चित भएपछि नेपालको खेल हेर्न जाने नेपाली समर्थकहरुको संख्या बढ्दो देखिएको छ ।

गोलनेपालका अनुसार अक्टुबर १० तारीखका जियो स्टेडियम, क्यानबेरामा हुने नेपाल र अष्ट्रेलियाबीचको खेल हेर्न मेलबर्न, सिड्नी जस्ता शहरहरुमा रहेका नेपाली समर्थकहरुले अनलाईन टिकट खरिद गर्नुका साथै हवाई टिकट, रेल टिकटहरु पनि बुक गरिसकेको बताएका छन् ।

खबरअनुसार हालसम्म सो खेल प्रत्यक्ष हेर्ने नेपाली दर्शकहरुको संख्या (टिकट बुक) एक हजारभन्दा बढी भईसकेको बताइएको छ । अष्ट्रेलियामा रहेका एक नेपाली फुटबल समर्थक सन्तोष भट्टराईका अनुसार नेपाली टोलीले अष्ट्रेलियाविरुद्ध उसकै घरेलु मैदानमा खेलेको हेर्नु एउटा सपना रहेको बताएका छन् ।

भट्टराई भन्छन्, “हाम्रो ६० जनाको समूह रहेको छ । हामी नेपाली टोलीलाई समर्थन गर्न क्यानबेरा जानेछौं । क्यानबेरा स्टेडियममा निश्चित रुपमा पाँच हजारभन्दा बढी नेपाली फुटबल समर्थक आउने हाम्रो विश्वास छ ।”

त्यस्तै उता पूर्व वीआर स्टार्सका सदस्य अरुण तिवारीले क्यानबेरामा हुने नेपाल र अष्ट्रेलियाबीच हुने विश्वकप छनौटको सो खेल प्रत्यक्ष हेर्न थुप्रै नेपाली समर्थकहरु त्यहाँ पुग्ने बताएका छन् । उनी भन्छन्, “हामी निकै उत्साहित छौं । नतिजा जे जस्तो आए पनि हामी नेपाली फुटबल टोलीलाई समर्थन गर्न त्यहाँ पुग्नेछौं ।”

स्मरण रहोस, विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपालले अष्ट्रेलिया बाहेक कुवेत, जोर्डन र चाइनिज ताइपेइ विरुद्ध पनि होम र अवे म्याच खेल्ने तय भईसकेको छ ।