आनन्द गौतम,
ताप्लेजुङ । सडक मर्मतपछि झरेको पहिरोले फक्ताङलुङ गाउँपालिका ३ लिंखिम थिवाको एक परिवार विस्थापित भएको छ । ७ परिवार जोखिममा छन् । ६५ वर्षीय मोतीकुमार लिम्बूले छिमेकी माइलाको घरमा बसिरहेको बताए । ६१ वर्षीय श्रीमतीसहित उनको पाँचजनाको परिवार छ ।

तीलप्रसाद लिम्बू, गंगाबहादुर लावुङ, नरेन्द्र लावुङ, खड्गबहादुर लिम्बू, छत्रबहादुर लावुङको घर पहिरोको जोखिममा रहेको छिमेकी दिलकुमार लावुङले बताए । उनीहरूमध्ये अधिकांशको घर पूरै चर्किएको र त्यही चर्किएको घरमा परिवारै बसिरहेको दिलकुमारले बताए । ठाउँ नभएकाले दिगो बसोवासका लागि कहाँ जाने भन्ने विकल्प नभएको मोतीकुमार बताउँछन् ।

विस्थापित परिवारलाई राहत र पुनर्बासका विषयमा सोध्न पनि कोही आएको छैन । ‘अहिलेसम्म कसैले सोधेको पनि छैन’, मोतीकुमारले भने, ‘परिवारै विस्थापित भएर बसिरहेका छौं ।’ गाउँपालिका अध्यक्ष सरोज एभेङ आफूले शुक्रबार मात्रै थाहा पाएको र त्यो ठाउँको सुरक्षित बासस्थानको विषयमा छलफल सुरु गरेको बताउँछन् । सडकका कारण पहिरो गएकाले त्यहाँ ग्राभेल लगाउने विषयमा सडक कार्यालयसँग छलफल गरेको उनले जनाए ।

‘मैले जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनलाई सहयोगका लागि अनुरोध गरें’, एभेङले भने, ‘उहाँ (जिसस प्रमुख) ले सडकको डिई साबलाई बोलाएर बस्ती सुरक्षाका विषयमा छलफल गरौं भन्नुभएको छ ।’ यहाँको सडकमा जाली राखेर ग्राभेल लगाउँदा बस्ती जोगाउन सकिने निष्कर्ष गाउँपालिकाको छ । पहिल्यै ग्राभेल लगाउने योजना बनाएको भए पनि गाउँलेलेकै असहयोगका कारण लगाउन नसकिएको सडक डिभिजन कार्यालयको बुझाइ छ ।

यहाँको वस्ती सार्ने ठाउँ पनि नभएकाले यसलाई सुरक्षित गर्नुको विकल्प नभएको अध्यक्ष एभेङ बताउँछन् । ‘राहत त सामान्य कुरा हो, गाउँपालिकाले व्यवस्था गर्छ’, एभेङले भने, ‘बस्ती सुरक्षित गर्ने विषयमा समुदायसँग पनि बसेर छलफल गरेर निष्कर्षमा पुग्छौं ।’

उत्तर दक्षिण लोकमार्ग आयोजनाले निर्माण गरेको सडकले एकै बस्तीमा पाँचवटा घुम्ती बनाएको छ । तर यो आयोजनाको भन्दा समुदायको चाहनाका कारण भएको स्थानीय स्वयं बताउँछन् । यो बस्तीलाई अहिले छिरुवा-सिंवा हुँदै मित्लुङ जोड्ने सडकले पनि छुन्छ । यो सडक बिस्तार गरेर चौडा पार्दा बस्ती झनै जोखिममा पर्ने खतरा रहेको कान्तिपुर दैनिकमा खबर छ ।