झिलझिले । प्रहरीले लागु औषधविरुद्ध स्थानीय युवाको अभियानलाई साथ दिएपछि जिल्लाको शिवसताक्षीबाट धमाधम त्यसका कारोबारी पक्राउ पर्न थालेका छन् ।

शिवसताक्षी नगरपालिका ११ दूधेबाट १२ किलोग्राम परिमाणको गाँजासहित ३ जना पक्राउ परेको तीन दिनपछि आइतबार दोमुखाबाट फेरि १ जना २ किलो ७ सय ग्राम गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायव निरीक्षक डम्बर आचार्यको टोलीले ५४ वर्षीय तीर्थलाल दाहाललाई उनकै घर दोमुखाबाट गाँजासहित पक्राउ गरको हो ।

पक्राउ परेका दाहाल २ वर्ष अघि पनि गाँजा बिक्री गरेको आरोपमा पक्राउ परेका थिए । झापा जिल्ला अदालतवाट धरौटीमा छुटेका दाहालले फेरि दोमुखा क्षेत्रमा स्थानीय युवायुवतीलाई गाँजा बेचेर व्यवसाय चलाउँदै आएको प्रहरी श्रोतबाट खुल्न आएको छ । प्रहरीले गाँजालगायत लागुऔषधको विरुद्धमा अभियान नै सञ्चालन गर्न थालेपछि गाउँ गाउँबाट लागुऔषध सेवनकर्ता, त्यसका कारोबारी र गाँजा बरामद हुन थालेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दाहाललाई अनुसन्धानका लागि इप्रका झिलझिलेमा लागि राखिएको छ ।