धरान । आइतबार राति करिब १० बजेको समयमा धरानको प्रवेशद्वार तिनकुनेमा कारमा लुकाएर ल्याएको लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान ८ तिनकुने कोशी राजमार्ग सडक खण्डमा चेकिङमा खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको को. २ च १०२१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको डिक्कीमा रहेको स्पेयर टायरभित्र लुकाई ल्याएको अवस्थामा फेला पारिएको प्रहरी ले जनाएको छ । कारमा लुकाएर ल्याएको लागुऔषध डाईलेक्स डिसी २८ बोतल रहेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान १५ बस्ने कार र कारका चालक ३९ वर्षीय रुबिन श्रेष्ठ र उक्त कारमा सवार धरान २ बस्ने बर्ष ५६ को बनवरिलाल शर्मा रहेका छन् ।

पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय धरानमा राखी आज सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डिराज न्यौपानेले बताए ।

तस्वीर : विनोद विश्वकर्मा