झापा। सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा आज पनि र्याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा सोमबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले र्याली निकालेका हुन् ।
स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा र्यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर्र यालीमा उत्रिएका थिए । यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइदैन, विधीको शासन कायम गर, रवि लामिछानेबिना सर्तामा रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा लगाएका थिए ।
र्याली बिर्तामोड बजार परिक्रममा गरि मुक्तीचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताले घटनाको निश्पक्ष छानबिनको माग गरेका थिए । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।