ताप्लेजुङ । साविक विजेता झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब यहाँ जारी चौथो पाथीभरा गोल्डकप २०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा संघर्षपूर्ण जीत निकाल्दै रेड स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

झापाकै गोर्खा स्पोर्टिङ क्लब दमकलाई १-० गोलले पराजित गर्दै रेड स्टारले फेरि उपाधि होडमा बलियो उपस्थिति जनाएको छ । दुवै टिमबाट चर्चित क्लब तथा ए डिभिजन क्लबमा आवद्ध खेलाडीलाई मैदानमा उतारेका थिए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलको खडेरी नै लागेको थियो । दोस्रो हाफको सुरुवातीमा रेड स्टारका लागि योगेश गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएसँगै गोलका खडेरी टरेको हो ।

रेड स्टारका लागि अधिकांश झापा ११ एफसीबाट खेल्ने खेलाडी सहभागी थिए । योगेश गुरुङ, कर्ण लिम्बू, विकास राई, पुजन उपरकोटी, बुद्ध चेम्जोङ, सनम राई, खमिरगिल्सन कन्दङवा, मिलन राई र आर्मीका गोलरक्षक दिवश चौधरी प्यलेइङ सेटमा थिए । त्यस्तै, गोर्खा स्पोर्टिङका लागि थ्री स्टारका गोलरक्षक पूर्ण चेम्जोङ, आर्मीका टेकबहादुर बुढाथोकीलगायत दिपक राई, विजय धिमाल, साइमन राईलगायत चर्चित अफ्रिकन क्लब दाउफिन्सका तीन जना खेलाडी मैदानमा उत्रिएका थिए ।

गोलको खडेरी तोड्नका लागि खेलको ५१औँ मिनेट पर्खिनु परेको थियो । खेलको १७औँ मिनेटमा दमकका लागि टेकबहादुर बुढाथोकीले पाएको अवसर सदुपयोग हुन सकेन । विपक्षी गोलरक्षक दिवश चौधरीसँगको वान भर्सेज वानमा गोल गर्न चुकेपछि समर्थक निरश बनेका थिए । तर, ५१औँ मिनेटमा पाएको फ्रिकिक अवसरलाई सदुपयोग गर्दै योगेश भने गोल गर्न सफल भए ।

दमकका पाँच खेलाडीको वाललाई चिर्दैै दोस्रो बार च्यापेका योगेशको प्रहार क्रस बारमा ठोक्किँदै बलले जाली चुमेपछि रेड स्टारले अग्रता लिएको थियो । दोस्रो हाफपछि केही सुधारिएको खेल प्रस्तुत गरेको दमकले गोल गर्न भने सकेन । दमक प्रथम पाथीभरा गोल्डकपको विजेता टोली हो । दोस्रो हाफमा दुवै टोलीले संघर्षपूर्ण खेल पस्के पनि थप गोल हुन सकेन । र, दमक भने घर फर्किन बाध्य बन्यो ।

खेलको म्यान अफ दी म्याच रेड स्टारका गोलरक्षक दिवश चौधरी घोषित भए । उनले पुरस्कारस्वरुप नगद पाँच हजार पाए । बुधबारको पहिलो सेमिफाइनल खेल रेड हर्ष एफसी इलाम र एलेभेन एरोज क्लब सुनसरीबीच हुनेछ । गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ र उपविजेताले नगद १ लाख ५१ हजार १११ सहित ट्रफी पाउनेछ ।