झापा । सुरुवाती गोल खाएर पनि खेलमा उत्कृष्ट पूनरागमन गरेको श्रीलंकाले बुधबारदेखि शुरु साफ यु-१५ च्याम्पियनसिपमा बिजयी शुरुवात गरेको छ । पश्चिम बंगाल, कल्याणीस्थित कल्याणी स्टेडियममा भएको दोस्रो खेलमा श्रीलंकाले भुटानलाई ३-२ ले हरायो ।

खेल शुरु भएको सातौं मिनटमै भुटानका लागि किन्जाङ तेन्जिङले पहिलो गोल गरे । भुटानले त्यो अग्रतालाई पहिलो हाफसम्म कायम राख्न पनि सफल भयो । त्यस्तै दोस्रो हाफको ४७औं मिनटमा सोनाम छोजाङले भुटानको त्यो अग्रता दोब्बर पारे । तर भुटानले त्यो दुई गोलको अग्रता जोगाउन सकेन । उता खेलमा उत्कृष्ट पूनरागमन गरेको श्रीलंकाका लागि ५२औं मिनटमा थुसमिका जयलतले पहिलो गोल फर्काए ।

७३औं मिनटमा फर्नान्डो डेरिक निलले श्रीलंकाका लागि दोस्रो गोल गर्दै खेललाई २-२ गोलको रोमाञ्चक बराबरीमा ल्याए । खेल बराबरीतर्फ नै लम्किरहेका बेला इन्जुरी समयको ९२औं मिनटमा मुहम्मद शकिलले श्रीलंकाका लागि तेस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

भुटानले अब आफ्नो दोस्रो खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ भने सोही दिन श्रीलंकाले नेपालसँग खेल्नेछ । स्मरण रहोस, नेपालले बुधबार नै भएको उद्घाटन खेलमा आयोजक भारतसँग ५-० को फराकिलो अन्तरको हार बेहोरेको थियो ।