ताप्लेजुङ । यहाँ जारी चौँथो संस्करणको पाथीभरा गोल्डकप अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि मोरङको डाँगीहाट फुटबल क्लब र झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । रेड स्टार यो गोल्डकपको साविक विजेता टोली पनि हो ।

हिजो भएको पहिलो सेमिफाइनल खेलबाट सुनसरीको एलेभेन एरोज क्लब फाइनलमा प्रवेश गरिसकेको छ । उसले इलामको रेडहर्ष एफसीलाई २-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशका लागि विदेशी खेलाडी यानिक ओवाना र श्याम चौधरीले गोल गरेका थिए ।

आजको खेलमा बिर्तामोडको रेड स्टारले झापा ११ एफसीबाट खेल्ने अधिकांश खेलाडी मैदान उतार्ने छ । कर्ण लिम्बू, योगेश गुरुङ, पुजन उपरकोटी, विकास राई, खमिरगिल्सन कन्दङवा, थ्री स्टार क्लबबाट खेलेको बुद्ध चेम्जोङजस्ता अनुभवी खेलाडी रेड स्टारको पहिलो रोजाइको खेलाडी हुन् ।

रेड स्टारले क्वाटरफाइनल खेलमा झापा दमकको गोर्खा स्पोर्टिङ क्लबलाई १-० गोलको झिनो अन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । उसका लागि योगेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । पाएको एउटा फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै योगेशको प्रहार गोलमा परिणत भएको थियो ।

स्पर्धी डाँगीहाटले मोरङकै बेलबारी एफसीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । उसका लागि विक्रम लिम्बूले गरेको गोल नै निर्णायक बनेको थियो । रेड स्टारजस्तै समान १-० गोलले बेलबारीलाई पराजित गर्दै डाँगीहाटले कठिन जीत निकालेको थियो । फाइनल प्रवेशका लागि हुने भिडन्त रोमाञ्चक बन्ने दर्शकले अपेक्षा गरेका छन् ।

डाँगीहाट एफसीका लागि पनि झापा ११ का केही खेलाडी समावेश छन् । विक्रम लिम्बूको कप्तानीमा डाँगीहाट मैदान उत्रँदा झापा ११ का डिफेन्डर दिलेन लोक्ताम, सुमिन मैनाली, विकेश लिम्बू पनि पहिलो रोजाइका खेलाडी रहेका छन् ।

गोल्डकपको चौथो संस्करणको विजेताले नगद ३ लाख ११ हजार १११ सहिद ट्रफी पाउँदा उपविजेताले १ लाख ५१ हजार १११ रुपैयाँ र ट्रफी पाउनेछ ।