बिर्तामोड । नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको पुरुष तथा महिला बास्केटबल लिग आयोजकले अब देशका विभिन्न भागमा लिग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ ।

यसअघि नेपाल बास्केटबल लिग र महिला बास्केटबल लिगको आयोजना गरेको यस संस्थाले अब देशभरमा बास्केटबलमा देखिएका प्रतिभालाई छनोट गर्नका लागि थ्री अन थ्री बास्केटबल लिग गर्न लागेको बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पहिलो चरणमा एनबिएल थ्री अन थ्री इस्ट टुर्नामेन्ट अन्तरगत पूर्वको बिर्तामोड, धरान र विराटनगरमा भदौ ६ देखि १० गतेसम्म आयोजना गरिने भएको छ । झापा जिल्ला बास्केटबल संघका अध्यक्ष तथा टुर्नामेन्ट कोअर्डिनेटर प्रकाश लिङदेनका अनुसार भोलि विराटनगरमा १० वटा टिमबाट उत्कृष्ट दुई टिम फाइनल राउण्डका लागि छनौट गरिनेछ ।

त्यस्तै, भदौ ७ गते धरानबाट १४ वटा टिमबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट दुई टिम र ८ गते बिर्तामोडबाट ८ टिमबीच प्रतिस्पर्धा गराएर अन्य दुई टिम फाइनल राउण्डका लागि छनौट गरिने भएको छ । फाइनल खेल झापाको बिर्तामोडमा हुनेछ ।

पहिलो चरणको प्रतियोगितामा तीनै स्थानका पहिलो र दोस्रो हुने टोली विर्तामोडमा हुने फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । बिर्तामोडमा भदौ १४ गते हुने फाइनल राउण्डमा ६ टिमले भाग लिनेछन् । जसमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइनेछ ।

प्रतियोगिताका लागि बिर्तामोडमा प्रकाश लिङडेन, धरानमा विकास चाम्लिङ र विराटनगरमा सरोज लम्सालले सहयोग गर्ने आयोजकले बताएका छन् । यो प्रतियोगितामा सहभागी सबै टिमले चार–चार खेलाडीलाई सहभागी गराउन पाउनेछन् । जसमा २१ अंक बटुल्ने पहिलो टिम विजेता हुनेछ ।

थ्री अन थ्री बास्केटबल लिग इष्ट विजेताले नगद ५० हजार पाउनेछ । यो पुरस्कार राशि नेपालकै सर्वाधिक भएको आयोजकको दाबी छ । थ्री अन थ्री बास्केटबल लिगमा यसअघि यति राशिको प्रतियोगिता नभएको लिगका कोअर्डिनेटर लिङदेनले बताए । उपविजेताले भने नगद २५ हजार पाउनेछ ।

प्रतियोगिता सम्पन्न गर्न कम्तिमा ५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । बास्केटबलको गतिविधि खासै नभएकाले पनि प्रायोजक नपाएको उनीहरुको भनाइ छ ।

यसैबीच, बास्केटबल खेलको प्रचारप्रसारका लागि आयोजकले कात्तिक महिनामा थ्री अन थ्री बास्केटबल लिग वेष्टको पनि प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताअन्तर्गत धनगढी, बुटबल र पोखरामा गराइने कोअर्डिनेटर लिङदेनले जानकारी दिए । यसको मिति भने घोषणा गर्न बाँकी रहेको छ । काठमाडौँमा केन्द्रित बास्केटबलको गतिविधिलाई विकेन्द्रिकृत गर्दै देशको विभिन्न भागमा लैजान आवश्यक ठानेर प्रतियोगिता गरिन लागेको पनि कोअर्डिनेटर लिङदेनको भनाइ छ ।