राजु पौडेल,
झापा । विकसित जिल्लाका अविकसित ठाउँहरुलाई जोड्दै पुर्व मेची र पश्चिम महाकाली जोड्ने १ हजार २ सय ५६ किलोमिटर लामो मदन भण्डारी राजमार्ग बन्ने भएपछि झापा र इलामको चुरे क्षेत्रका बासिन्दा हर्षित भएका छन् । सरकारले चुरे पर्वत श्रृंखलाको फेदबाट मेची–महाकली जोड्ने चौथो विकल्पको मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजना अघि सारेर बजेट समेत बिनियोजन गरेपछि सो क्षेत्रमा चहलपहल पनि निक्कै बढेको छ ।

झापा र इलामको सीमावर्ती क्षेत्र इलामको रोङ गाउँपालिका-६ स्थित दुधेचौरीबाट प्रारम्भ भई डडेल्धुरासम्म निर्माण हुने मदन भण्डारी राजमार्गका लागि सरकारले चालु आर्थिक वर्षमा चार अर्ब ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो मार्ग दाङ-लमही-तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । त्यस्तै, धरान-चतरा-गाईघाट-सिन्धुली-हेटौँडा सडकलाई नै मदन भण्डारी राजमार्गका रुपमा विकास गरिदै आएको छ ।

धरानदेखि पूर्वको मेचीनदीसम्म करिब ९० किलोमिटरको काम पनि सुरु हुन लागेको छ । सिन्धुलीको भिमानबाट काठमाडौंसम्म अहिले पनि यातायातका साधन सञ्चालन भइरहेको र अब दुधेचौरीबाट भिमानसम्म करिब २ सय ४० किलोमिटरको दुरी जोड्न केही वर्ष लाग्ने देखिएको छ । राजमार्गका लागि बजेट समेत विनियोजन भइसकेकाले पूर्वमा अब निर्माणको काम टेण्डर मार्फत् आगामी असोजबाट सुरु हुने मदन भण्डारी राजमार्ग सरोकार समितिका अध्यक्ष बृहस्पती खतिवडाले बताए ।

यो मार्गले छुने झापाको बाहुनडाँगी इलामको इरांैटार, बहुबन, झापाको शान्तिनगर बर्ने, हापेनचोक, बुधवारे, साधुटार, खैरेनी क्षेत्रमा आर्थिक तथा व्यवसायीक क्रियाकलाप समेत बढेको स्थानियले बताएका छन् । राजमार्ग बन्ने भएपछि सो क्षेत्रबाट बसाईसराई रोकिएर जग्गाको भाउ समेत ३ गुणाले बढ्न थालेको स्थानियले बताएका छन् । यातायातको विस्तारसँगै व्यापार, व्यवसाय सञ्चालन र आवागमन व्यवस्थित हुँदा यस क्षेत्रको समग्र विकास हुनुका साथै धार्मिक स्थलहरुको समेत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन समेत गर्न सकिने इलामको रोङ-५ का चन्द्र मगरले बताए ।

पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित बजेट समेत विनियोजन गरेपछि स्थानीय आशावादी देखिएका छन् । आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका चुरेक्षेत्रका बासिन्दा विकासको नयाँ ढोका खुल्ने विश्वास गरेपनि कतिपयले भने अहिलेदेखि मुआब्जाको चिन्ता व्यक्त गरेका छन् ।

यस्तै, अत्यन्तै संबेदनशील चुरे क्षेत्रबाट निर्माण हुन लागेको मदन भण्डारी राजमार्गले वन फँडानी र बाढी, पहिरो जस्ता प्रकोपलाई मध्यनजर गर्दै सडकको काम अगाडी बढाउन स्थानियले सरकारलाई आग्रह समेत गरेका छन् । यो सडक निर्माण भएको खण्डमा चुरे क्षेत्रका लाखौं बासिन्दालाई प्रत्यक्षरुपमा सडक सञ्जालमा जोड्ने देखिएको छ ।