ताप्लेजुङ । यहाँ जारी चौथो पाथीभरा गोल्डकपको उपाधि होडमा झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब पुगेको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सडन डेथमा पुगेरका जित निकालेसँगै रेड स्टारले फाइनल यात्रा तय गरेको हो ।

स्पर्धी मोरङको डाँगीहाट फुटबल क्लबलाई सडन डेथमा ४-३ गोलले पराजित गर्दै रेड स्टार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यो जीतसँगै गतवर्षको साविक विजेता रेड स्टार पुनः उपाधिको होडमा पुगेको हो ।

खेलकोे निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेर बराबरी खेलेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफको २ मिनेटमै योगेश गुरुङले गोल गरेर रेड स्टारका लागि खाता खोलेका थिए । तर, दोस्रो हाफको ८ मिनेटमा डाँगीहाटका लागि विकेश लिम्बूले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । खेलको अन्त्यतिर पानी परेर खेल खेल्न असहज भएको थियो ।

९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि दर्के पानी परेको थियो । यसैबीच रेफ्रीले पानीले रुझेको मैदानमै टाइब्रेकर गराएका थिए । भोलि शुक्रबार नै फाइनल खेल हुने भएकाले पनि आयोजकले खेलको निर्णय पानी परिरहेकै भए पनि खेलाउन बाध्य थियो ।

टाइब्रेकरमा दुवै टोलीले ३-३ गोल गरेपछि खेल सडन डेथमा धकेलिएको थियो । टाइब्रेकरमा डाँगीहाटका सुमिन मैनालीको प्रहार रेड स्टारका गोलरक्षक विवश चौधरीले बचाउ गरे । रेड स्टारका निरज बस्नेतको प्रहार पनि डाँगीहाटका गोलरक्षक छिरिङ तामाङले बचाउ गरे । डाँगीहाटका दिलेन लोक्तामको प्रहार पनि विवश चौधरीले बचाउ गरेका थिए ।

रेड स्टारका बुद्ध चेम्जोङको प्रहार भने छिरिङले बचाउन सकेनन् । त्यस्तै, डाँगीहाटका कप्तान विक्रम लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । रेड स्टारका पुजन उपरकोटीको प्रहार पनि सोझै गोलमा परिणत भएको थियो ।

डाँगीहाटका विकेश लिम्बूको प्रहार क्रसबारमा ठोक्किँदै गोलमा परिणत भयो । रेड स्टारका मनोज राईको प्रहार भने छिरिङले बचाउ गरेका थिए । उनको प्रहार गोलरक्षकको हातमा सिधै परेको थियो । त्यस्तै, डाँगीहाटका विक्रम धिमालको प्रहार गोलमा परिणत भयो । र, रेड स्टारका लागि योगेश गुरुङको प्रहार पनि गोलमा परिणत हुँदा खेल सडन डेथमा पुगेको थियो ।

३-३ गोलको बराबरीमा खेल पुगेको पछि सडन डेथमा डाँगीहाटका मानबहादुर परियारको पहिलो प्रहार झापाका गोलरक्षक विवशले बचाउ गरेका थिए । रेड स्टारका लागि निर्णायक गोल भने निशान्त लिम्बूले गरेका थिए । उनी कर्ण लिम्बूको स्थानमा स्थानान्तरण भएका खेलाडी हुन् । झम झम पानी परिरहँदा पनि घरेलु दर्शक छाता ओढेर भए पनि झापाको समर्थनमा थिए ।

खेलकोे म्यान अफ दी म्याच रेड स्टारका गोलरक्षक विवश चौधरी घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए । भोलि सुनसरीको एलेभेन एरोज क्लबसँग रेड स्टार फुटबल क्लबले उपाधि भिडन्तका लागि फाइनल खेल खेल्नेछ ।

गोल्डकपको उपाधि विजेताले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ५१ हजार १११ रुपैयाँ पाउनेछ ।