राजु पौडेल,

बिर्तामोड । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रदर्शन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले ¥याली निकालेका हुन् ।

झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त ¥याली तथा कोणसभा गरेका छन् । सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन खबरदारी गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरे ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निश्पक्ष छानबिन गरिनुपर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए । ¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधिको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीबार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढेको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रदर्शनमा सहभागी नहुन विज्ञप्तिमार्फत् ह्वीप नै जारी गरे पनि झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, ¥याली र कोणसभा भइरहेको छ ।