काठमाडौं । सेप्टेम्बर ५ देखी १५ सम्म श्रीलंकामा आयोजना हुने एसीसी यु-१९ एसिया कपका लागि १५ सदस्यीय युवा टिमको घोषणा गरिएको छ। २४ अगस्टमा नै श्रीलंका प्रस्थान गर्ने टिमले त्यहाँ रहँदा केही अभ्यास खेलहरु खेल्नेछ।

उक्त प्रतियोगिताका लागि मुख्य प्रशिक्षक विनोद दासलाई ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय मुलुकका अपूर्व देसाईले सघाउनेछन्। नेपालले समुह चरणमा दुई टेस्ट राष्ट्रसहित युएईसँग प्रतिष्पर्धा गर्नेछ। समुह ‘बि’ मा रहेको नेपालले आयोजक श्रीलंका, बंगलादेश र युएई विरुद्ध प्रतिष्पर्धा गर्दे शीर्ष दुईमा रहने प्रयास गर्नेछ।

राउन्ड रोविन लिगका आधारमा एक अर्काविरुद्ध प्रतिष्पर्धापछि शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले ६ सेप्टेम्रबमा आरपीआईसीएस मैदानमा घरेलु टोली श्रीलंकाविरुद्ध प्रतिष्पर्धा गर्नेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा ८ सेप्टेम्बरमा अर्को टेस्ट राष्ट्र बंगलादेशविरुद्ध पी सारा मैदानमा प्रतिष्पर्धा गर्दा समुह चरणको अन्तिम खेलमा नेपालले युएईविरुद्ध १० सेप्टेम्बरमा एमसीजी मैदानमा प्रतिष्पर्धा गर्नेछ।

त्यस्तै प्रतियोगिताको अर्को समुहमा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेतले प्रतिष्पर्धा गर्नेछन्। नेपालले बिहीबार रोहित पौडेलको कप्तानीमा घोषणा गरेको १५ सदस्यीय टिममा अधिकाशं यसअघि मलेसियामा सम्पन्न एसीसी यु–१९ इस्टर्न रिजन प्रतियोगितामा सहभागी जनाएका खेलाडीहरु नै छन्। यद्यपि उक्त प्रतियोगितामा सहभागिता जनाएका विसालविक्रम केसी र तिलक भण्डारी भने टिममा छैनन्।

तिलकको स्थानमा यो पटक स्पीनर सुर्य तामाङलाई अवसर दिइएको छ । त्यस्तै एसिया कपका लागि अघिल्लो पटक एसीसी इस्टन रिजन प्रतियोगितामा वैकल्पिक सूचीमा रहेका आसिफ सेख र सन्दिप जोरा टिममा फर्किन सफल भए। त्यस्तै वैकल्पिक खेलाडीका रुपमा रहेका आकाश चन्द भने टिममा पर्न सकेनन्।

नेपाली टिम
रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, महमद आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सुर्य तामाङ, लोकेश बहादुर बम, प्रतिस जिसी रहेका छन्।

एसिया कपका लागि यो पटक ५ जना सपोर्ट स्टाफ रहनेछन्। जसमा टिमको मुख्य प्रशिक्षकका रुपमा विनोद दास रहँदा ब्याटिङ कन्सल्टेन्ट अपुर्भ देसाईले रहनेछन्। राजु खड्का व्यवस्थापकको रुपमा रहँदा बिक्रम न्यौपाने फिजियो र फिटनेस ट्रेनरका रुपमा सुबास पात्रो नेपाली टिम सँग हुनेछन्।