ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधिका लागि आज शुक्रबार डिफेन्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लब झापा र एलेभेन एरोज क्लब सुनसरी भिड्दैछन्। खेल सदरमुकाम फुङलिङस्थ्ति भानुजन माविको खेल मैदानमा हुनेछ। खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब मोरङलाई पराजित गर्दै झापाले सुनसरीसँग भेट पक्का गरेको हो। झापाले मोरङलाई सडन डेथमा ४-३ गोल अन्तरले पराजित गरेको हो। झापाका लागि बुद्ध चेम्जोङ, पुजन उपरकोटी, योगेश गुरुङ र निशान लिम्बुले गोल गरे। यता पराजित डाँगीहाटका लागि भने विक्रम लिम्बु, विकेश लिम्बु र विक्रम धिमालले मात्र गोल गरेका थिए।

झापाका निरज बस्नेत र मनोज राईको प्रहार गोलकिपर छिरिङ तामाङले बचाए। डाँगीहाटका सुमिन मैनाली, दिलेन लोक्तान र मानबहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ गरेर टिमलाई फाइनल भिडन्तमा पुराए । म्यान अफ दी म्याच घोषित गोलकिपर चौधरीले नगद ५ हजार प्राप्त गरे। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलको निर्णय ट्राइब्रेकरबाट लिएको हो। खेलको ४७ औं मिनेटमा योगेश गुरुङको गोलमा झापाले अग्रता लिएको थियो। तर, ५३औं मिनेटमा मोरङका लागि विकेश लिम्बुले बराबरी गोल गरे।

फाइनल भिडन्तमा झापाका लागि रेड स्टारले झापा ११ एफसीबाट खेल्ने अधिकांश खेलाडी मैदान उतार्ने छ । कर्ण लिम्बू, योगेश गुरुङ, पुजन उपरकोटी, विकास राई, खमिरगिल्सन कन्दङवा, थ्री स्टार क्लबबाट खेलेको बुद्ध चेम्जोङजस्ता अनुभवी खेलाडी रेड स्टारको पहिलो रोजाइको खेलाडी हुन् ।

रेड स्टारले क्वाटरफाइनल खेलमा झापा दमकको गोर्खा स्पोर्टिङ क्लबलाई १-० गोलको झिनो अन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । उसका लागि योगेश गुरुङले गरेको सम्झनलायक गोल नै निर्णायक बनेको थियो । पाएको एउटा फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै योगेशको प्रहार गोलमा परिणत भएको थियो ।

एलेभेन एरोज भने पहिलो सेमिफाइनल खेलमा संघर्षपूर्ण जीत निकाल्दै फाइनल पुग्ने पहिलो टोली बनेको थियो ।स्पर्धी रेड हर्ष फुटबल क्लब इलामलाई २-० गोलको झिनो अन्तरले पराजित गर्दै सुनसरी फाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हाफमा सुनसरीका लागि विदेशी खेलाडीले गोलको खाता खोलेका थिए भने अर्को गोल खेलको अन्त्यतिर सब्स्च्यिूट खेलाडीबाट भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुनसरीका विदेशी खेलाडी यानिक ओवानाले पहिलो हाफको ३५औँ मिनेटमा इलामको डिबक्सभित्र पाएको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ४४औँ मिनेटमा श्याम चौधरीले थप गोल गर्दै सुनसरीको अग्रता दोब्बर बनाउन सफल भएका थिए । सुनसरीले भने दार्जीलिङको युकेएफसीलाई पराजित गर्दै इलामलाई सेमिफाइनलमा भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।