एजेन्सी । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । डर्टमन्डले शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३-१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५-१ को फराकिलो जित निकालेको थियो ।

कोलोग्नीको घरेलु मैदानमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याएर जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे । घरेलु टोलीका डोमिनिक ड्रेक्सलरले गोल गरे ।

खेलको नवौं मिनेटमा डोमिनिकको गोलबाट डटएमन्ड पछि परेको थियो । डोमिनिकले इलियसको पासमा गोल गरेका थिए । एक गोलले पछि परेपछि लगातार पोस्ट आक्रमण बुन्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि ७०औं मिनेटसम्म कुर्नुपरेको थियो ।

७०औं मिनेटमा युवा सनसनी जाडोन सान्चोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले थोर्गान हजार्डको पासमा गोल गर्न सफल भएको थियो । पहिलो गोल गरेसँगै खेलमा फर्किएको डर्टमन्डको लागि आचरफ हाकिमीले गोल गर्दै खेललाई २-१ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई ३-१ को जित दिलाए । उनले सान्चोको पासमा गोल गरेका थिए । लगातार दोस्रो जितसँगै डर्टमन्डको ६ अंक पुगेको छ । कोलोग्नी अंकविहीन छ ।