एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु सञ्चालन हुँदैछ । शनिबार लिभरपुल, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल जस्ता ठुला टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिगमा शनिबार लिभरपुल र आर्सनलबीचको खेल सबैको पर्खाइमा हुनेछ । किनकी सिजनको तेस्रो साता ठुला क्लब आमनेसामने हुँदैछन् । लिभरपुल र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ । र, एनफिल्डमा मैदान उत्रँदा दुवै टोली जीत निकाल्ने योजनामा हुनेछन् ।

दुवै टोलीले अघिल्ला दुई खेलमा जीत निकालेका छन् । समान ६ अंक जोडेको लिभरपुल शीर्ष र आर्सनल दोस्रो स्थानमा रहेका छन् । दुवै टोली तेस्रो जीतको खोजीमा रहने हुँदा खेल रोमान्चक हुने अनुमान गरिएको छ । यस्तै म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । दुईबीचको खेल ७:४५ मा सुरु हुनेछ ।

घरेलु मैदानमा युनाईटेड दोस्रो जीतको खोजीमा हुनेछ । दुई खेलमा ४ अंक जोडेको युनाईटेड तालिकाको चौंथो स्थानमा छ । १ अंक जोडेको क्रिस्टल पहिलो जीतको खोजीमा रहेको छ । चेल्सीले नर्विचसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र नर्विचबीचको खेल बेलुका ५:१५ मा सुरु हुनेछ ।

चेल्सी पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अघिल्ला दुई खेलमा एक हार र एक बराबरी गरेको चेल्सीको १ अंक रहेको छ । ३ अंक जोडेको नर्विच दोस्रो जीतको खोजीमा हुनेछ । प्रिमियर लिगमा शनिबार नै वाट्फोर्डले वेष्ट ह्याम, सेफिल्डले लेष्टर सिटी र ब्राइटनले साउथह्याम्पटनसँग खेल्नेछ ।