लक्ष्मी उप्रेती,
झापा । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजी क्षेत्र यसको प्रचारप्रसारमा लागि परेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकाँक्षी योजना अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न काम अगाडि सारेर काम गरिरहेको बताइरहेका बखत ट्राभल संघ झापाले भ्रमण वर्ष २०२० कार्यक्रम सफलरुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार गर्ने उद्देश्यले ५ दिने भारतको सिक्किम राज्यको भ्रमण तथा यहाँका पर्यटन, होटललगायत अन्य व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गदैं भारतका विभिन्न ठाउँबाट पर्यटक पठाइदिन आग्रह गरेको छ ।

नेपाली टोलीलाई सिक्किमका पर्यटन व्यवसायी तथा अन्य अधिकारीहरुले सिक्किममा स्वागत तथा सम्मान गरेका थिए । पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरुप त्यसलाई पूरा गर्न संघ लागिपरेको अध्यक्ष निरबहादुर कार्की नेत्रले बताउनुभयो । प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौलासहितको नेपालबाट गएको टोलीले भारतको उत्तर, दक्षिण, पूर्वी सिक्किम राज्यमा विभिन्न व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । भदौ १ गतेदेखि सुरु गरेको भ्रमणका क्रममा दक्षिण सिक्किमको नाम्चीस्थित हाम्किन होटलमा स्थानीय पर्यटन तथा होटल व्यवसायीहरुसँग नेपाली टोलीले छलफल गरेको थियो । टोली बिहीबार नेपाल फर्किएको थियो ।

छलफलका क्रममा नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० लाई सफल पार्न सिक्किमका व्यवसायीहरु लागि पर्ने प्रतिवद्घता व्यक्त गरेका थिए । होटल एसोसिएशन अफ नाम्चीका अध्यक्ष पीके राईले नेपाली पर्यटकहरुको भरमा रहेका यहाका पर्यटन व्यवसायीहरुका लागि पर्यटक पठाइदिन समेत आग्रह गर्नुभयो । उहाँले पर्यटन व्यवसाय पर्यटकमा भरपर्ने व्यवसाय भएकाले नाम्चीका पर्यटन तथा होटल व्यवसायीहरुका पीडा सुनाउनुभयो । सिक्किमेली होटल तथा ट्राभल व्यवासायीहरु सचिन शर्मा, जुनु राई, केशव ठटाल, होटल एसोसिएशन अफ नाम्चीका कानुनी सल्लाहकार एवम् पर्यटन तथा होटल व्यवसायी अधिवक्ता प्रियंका शर्मा वस्नेतलगायतले आआफ्नो धारण राख्दैं भ्रमण वर्ष २०२० लाई सफल पार्ने प्रतिवद्घता दोहोर्याउनुभयो ।

उहाँहरुले छिमेकी भारतबाट पर्यटकहरु नेपाल जाने वाताबरण बनाइदिन समेत नेपाली अधिकारीहरुलाई आग्रह गर्नुभयो । सिक्किमेली व्यवसायीहरुले भारतीय पर्यटकहरुलाई नेपालले के गर्दा आर्कषण गर्न सकिन्छ त्यसतर्फ नेपाल लागे भ्रमण वर्षको लक्ष्य पूरा हुने भएकाले त्यसतर्फ लाग्न सुझाव दिएका थिए ।

नेपाली टोलीका तर्फबाट बोल्दैं प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने भन्दैं नेपालमा महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल रहेकाले निर्धक्करुपमा भयरहित वातावरणमा घुम्न सक्ने विश्वास दिलाउनुभयो । सचिव ढुंगानाले हरेक व्यवसायीहरु पर्यटनमैत्री बन्नु पर्नेमा जोड दिँदै हरेकले आफ्नोमा आउने पर्यटकहरुसँग गर्ने व्यवहार राम्रो, शिष्ट तथा सम्मानजनकरुपको हुनुपर्ने बताउनुभयो ।

उहाँले दुवै देशका पर्यटन व्यवसायीहरुको समस्या समान भएकाले एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी र परिपूरक भएर व्यवसाय सञ्चालन गरे सबैलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले जतिसक्दो बढी पर्यटक नेपाल पठाइदिन समेत सिक्किमेली व्यवसायीहरुलाई आग्रह गर्नुभयो । संघका अध्यक्ष कार्कीले नेपाली पर्यटन व्यवसायीहरु आन्तरिकभन्दा बाह्य पर्यटकका भरमा चल्नु परेकाले नेपाली पर्यटन व्यवसायीहरु पर्यटनमैत्री भएको धारणा राख्नुभएको थियो । प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला, संघका कोषाध्यक्ष पेमा लामा, विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारी, टोलीमा सहभागी सञ्चारकर्मीका तर्फबाट टीकाराम नेतिलगायतले आआफ्नो विचार राख्नुभएको थियो ।

नेपाली टोलीले सिक्किमको राजधानी पूर्वी सिक्किम गान्तोक, नर्थ सिक्किम लाचुङ युमनाङलगायतका अन्य स्थानमा समेत अन्तरक्रिया गरेको थियो । गान्तोकस्थित होटल लोनार्क रेसिडेन्सीमा भएको कार्यक्रममा गान्तोक होटल एशोसिएशनका हरि शाही ठकुरीले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो दुवै देशका व्यवसायी लाग्नुपर्नेमा जोड दिनुभयो । आफ्नो देशमा कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ, आफ्ना देशमा आउने पर्यटकहरुका लागि के कस्ता सुविधा दिन सकिन्छ सम्बन्धित निकाय त्यसतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपाली पर्यटन व्यवसायीलाई समेत आफ्नो देशमा पर्यटक पठाएदिन आग्रह गर्नुभयो । भ्रमण वर्ष २०२० सफल पार्नका पूर्वी सिक्किमका प्रत्येक व्यवसायी सकरात्मक रहेको उहाँको भनाइ थियो । यसैगरी, उत्तरी सिक्किमस्थित लाचुङस्थित होटल सेलामा कार्यक्रम भएको थियो । सेलो भोटियाले सिक्किमेली व्यवसायीको पीडा नेपाली अधिकारीसमक्ष राख्नुभयो ।

नेपालका तर्फबाट कार्यक्रमका प्रमुख अतिथिका रुपमा सिक्किम पुगेका प्रदेश नम्बर १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला, संघका अध्यक्ष निरबहादुर कार्की नेत्र, विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारीलगायतले यहाका व्यवसायीहरुलाई रुद्राक्षको माला पहिर्याएर भ्रमण वर्ष २०२० मा नेपाल घुम्नका लागि निमन्त्रणा पत्र प्रदान गर्नुभएको थियो ।