एजेन्सी । बार्सिलोना स्टार लियोनल मेस्सी पुन टिम बाहिर परेका छन् । आज आइतबार हुने रियल बेटिसविरुद्वको खेल अगाडी उनी टिम बाहिर परेका हुन् । उनी टिमको अन्तिम अभ्यास सत्रमा समेत सहभागी भएनन् । मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान फर्कने तयारीमा छन् ।

कोपा अमेरिकामा सहभागी भएका मेस्सीले प्रि-सिजनका अधिकांश खेल गुमाएका थिए । लगत्तै अभ्यास सत्रमा फर्किएका उनले चोट बोकेका थिए । सोही कारण उनले एथ्लेटिको क्लबविरुद्वको लिगको पहिलो खेल गुमाएका थिए ।

अन्तिम समयमा गोल खाएपछि सो खेलमा लिग च्याम्पियन बार्सिलोना एथ्लेटिको क्लबसंग १-० ले पराजित भएको थियो । लुईस स्वारेज र उसमान डेम्बेलेले चोट बोकेपछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् ।

उनी शनिबारको पुरै अभ्यासमा समेत सहभागी भएनन् । सोही कारण उनी बेटिसविरुद्वको टिममा समेत परेका छैनन् । यसअघि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सीको बिषयमा कुनै खतरा मोल्न नचाहेको भन्दै बेटिसविरुद्वको खेलमा उनी फर्कन सक्ने बताएका थिए ।

‘हामी कुनै खतरा मोल्न चाहदैनौ’,  भाल्भर्डेले भने, ‘हामी प्रतिक्षा गरिरहेका छौ र उनको तयारलिाई हेरिरहेका छौ ।’ अर्जेन्टिनी स्टार मेस्सी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेल पछि मैदानमा देखिएका छैनन् । उनको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ ।

मेस्सीले गत सिजन ३६ गोल गर्नुका साथै १३ गोलको अवसर सिर्जना गरेका थिए । सोही आधारमा बार्सिलोनाले लिग उपाधि जितेको थियो ।