बिर्तामोड । टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८-१२ ले पराजित गर्यो ।

यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न स्विस र बाल कल्याण बिद्या मन्दिर तथा इटहरी स्ट्याग्स र होराइजनले प्रतिस्पर्धा गर्नेछन् ।

इस्टर्न स्विस र इटहरी स्ट्याग्स आ–आफ्नो सहरको विजेता हुन् । मगंलबार टावर टेम्पल स्कुलमै हुने फाइनल्समा ६ टिमलाई दुई समुहमा विभाजन गरिएको र डबल लिगका आधारमा प्रतिस्पर्धा गराइने बताइएको छ । शिर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । इस्टर्न स्विस, होराइजन र टि भ्याली समुह ए मा छन् ।

बिर्तामोड लेगमा ९ क्लबहरुको सहभागिता रहेको थियो । टि भ्यालीले सेमिफाइनलमा ग्रिन सिटी इलाम बास्केटबल क्लबलाई १०–९ को झिनो अन्तरले पराजित गरेको थियो । हुलिगनले टावर टेम्पल स्कुल बी लाई १०-६ ले हराएको थियो ।

फाइनलमा टि भ्यालीलाई जित दिलाउन गणेश राज सुवेदीले १६ स्कोर गरे । तीन शहर गरेर कुल २७ टोलीको प्रतियोगितमा सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन) ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख सहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमा खेलाइनेछ ।

पिडिसिएनमा पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।