एजेन्सी । वेल्स फरवार्ड ग्यारेथ बेलले दुई गोल गरे पनि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिड र भिल्लारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली भिल्लारियलले खेलमा दुई पटक अग्रता बनाए पनि बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए । खेलको १२औँ मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले बराबरी गोल फर्काए ।

दोस्रो हाफको ७४ औं मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा पुनः भिल्लारियललाई अगाडि बढाए । तर निर्धारित समयभन्दा ४ मिनेट अघि बेलले लुका मोड्रिचको पासमा गोल गर्दै हार टार्न सफल रहे । दुई गोल गरेका बेलका लागि खेलको अन्त्य भने सुखद रहेन । दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै बेल मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै रियल ३ खेलमा ५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शीर्षस्थानमा ३ खेलमा ९ अंक जोडेको एट्लेटिको म्याड्रिड छ । एट्लेटिकोले आइतबार एइबारमाथि ३-२ को रोमान्चक जित दर्ता गरेको थियो ।