एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीको अन्तिम मनोनयनमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डायक परेका छन् । गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।

डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि बनाएका थिए । रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए । यस्तै वर्ष खेलाडी महिलातर्फ युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् । वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।