एजेन्सी । वेस्ट इन्डिजसँगको दोस्रो टेष्टमा भारत २ सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । दुई टेष्ट सिरिज भारतले २-० ले जित्दै क्लिनस्वीप गरेको छ ।

पहिलो टेष्टमा भारत ३ सय १८ रनले विजयी भएको थियो । यो सँगै विराट कोहली भारतबाट सर्वाधिक टेष्ट खेल जिताउने कप्तान बनेका छन् । पुर्व कप्तान महेन्द्र सिंह धोनीको २७ खेल जितलाई पछि पार्दै कोहलीले ४८ खेलमा २८ खेल जिताउँदै यो सफलता हात पारेका हुन् ।

४ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज ५९.५ ओभरमा २ सय १० रनमा अल आउट भयो । उसका लागि शमराह ब्रुक्सले १ सय १९ बलमा ९ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

पहिलो इनिङमा हनुमा विहारी १ सय ११ र कप्तान विराट कोहलीले ७६ रन बनाएपछि भारतले ४ सय १६ रन बनाएको थियो । जसप्रित बुमराहले ह्याट्रिक सहित ६ विकेट लिएपछि वेस्ट इन्डिज पहिलो इनिङमा १ सय १७ रनमा अल आउट भएको थियो । भारतले पहिलो इनिङमा २ सय ९९ रनको अग्रता लिएपनि दोस्रो इनिङमा १६८-४ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तीको घोषणा गर्दै विशाल लक्ष्य दिएको थियो ।

भारतले अव दक्षिण अफ्रिकासँगको तीन टी-२० सिरिज अन्तर्गत पहिलो खेल १५ सेप्टेम्बरमा खेल्ने छ । वेस्ट इन्डिजले नोभेम्बरमा अफगानिस्तानसँग ३ टि२० सिरिज खेल्ने छ ।