अर्जुनधारा । निजामती सेवा दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाका कर्मचारीले कार्यालय हाता परिसरमा वृक्षारोपण गरी आइतबार मनाएका छन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका प्रमुख हरिकुमार राना रहेका थिए । प्रमुख रानाले कर्मचारीसँग जनताले धेरै अपेक्षा गरेका हुनाले जनताको सेवामा समर्पित हुन आग्रह गरे । उनले जनता र कर्मचारी मिलेर काम गर्न सके नगरको लक्ष्यअनुरुप विकास निर्माणसँगै नगर समृद्धितर्फ लाग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले निजामती सेवाको इतिहास, वर्तमान र भविष्यमा देखिने चुनौतिका बारेमा प्रष्ट्याएका थिए । निजामतीसहित सबै कर्मचारी सम्मिलित कार्यक्रममा अधिकृत भूर्तेलले जनअपेक्षा अनुसार काम गर्न सुझाउँदै नगरमा सुशासन कायम गर्नुमा कर्मचारीको अहम् भूमिका रहने बताए ।

सोही कार्यक्रमपछि विभिन्न जाति प्रजातिका बोटबिरुवा कार्यालय परिसरमा रोपिएको थियो । नगरका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा अधिकृत जानुका गुरागाईले स्वागत गरेकी थिइन् ।