झापा । स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १-१ गोल गरे । तेस्रो मिनेटमा कप्तान निरुको पासमा गोलको खाता खोलेकी सावित्राले १५ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । किर्गिस्तानले १९ औं र २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि नेपालको गोलवर्षा भने रोक्न असमर्थ रहयो ।

२५ औं मिनेटमा दीपाले गोल गरेपछि नेपालले पुन: अग्रता लियो । सावित्राले ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा नेपालको २ गोलको अग्रता पुन: स्थापना गरिन् । सावित्राकै पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए ।

पहिलो हाफमा फराकिलो अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । खेलको ५३ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै नेपाललाई ५ गोलले अगाडी पुर्याइन । ८८ औं मिनेटमा मन्जलीकुमारी योन्जनको प्रहार पोस्टमा लागेर बाहिरिंदा नेपालले अग्रता बढाउन सकेन । निर्धारित समयको अन्तिम मिनेटमा अनिता बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै नेपालको फराकिलो जित सुनिश्चित गरिन् ।

यसअघि आजै भएको पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२-० को फराकिलो जित दर्ता गरेको थियो । पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले भोली हुने खेलमा उज्वेकिस्तानसँग खेलेपछि पर्सी मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् । तेस्रो स्थानको खेल पनि बिहिबार नै हुनेछ ।