बिर्तामोड । आइतबार राति झापाका दुई स्थानमा बम विस्फोट भएको छ । राति साढे ११ बजे बिर्तामोड-२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको छ ।

बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ ।

सहकारीको चौकीदार बस्ने घरमा शक्तिशाली कुकर बम विष्फोट भएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

‘बम भएको थाहा पाएर प्रहरीलाई खबर गरे, प्रहरी आएर सेनाको डिस्पोजल टोलीलाई बोलायो आउन नपाउँदै बम बिस्पोट भयो’, सहाराका सुरक्ष गार्ड त्रिलोचनले भने ।

यसैगरी, अर्को विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ । राति साढे १२ बजे गौरादह-३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिए ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।

एकै समयमा दुबै तर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्पल)का कार्यकर्ताले बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यस अघि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत वम विष्फोट भएको थियो ।

दुबै ठाउँको क्षतिको यकिन बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई आज बिहान ४ बजे नियन्त्रणमा लिएको छ ।