काँकरभिट्टा । नेपाल मगर संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार संघको जिल्ला, नगर तथा प्रारम्भिक समितिले एक कार्यक्रमका बीच विदाइ गरेको छ । भारत सिक्किमको जोरथाङस्थित माङ्सारामा रहेको मङ्गर जोङ्ग (मगरको राजा बस्ने किल्ला) को अध्ययन तथा अवलोकन भ्रमणका लागि आएको केन्द्रीय टोलीलाई विदाइ गरिएको हो ।

५ दिने भ्रमणमा निस्किएको ३० सदस्यीय टोलीमा मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोक्का मगर, महासचिव ज्ञानेन्द्र पुन मगरलगायत नाइस टेलिभिजनका पत्रकारहरु पनि रहेका छन् । उनीहरुलाई संघका झापा जिल्ला अध्यक्ष जगत राना मगर, मेचीनगर अध्यक्ष विकास थापा मगर, काँकरभिट्टा प्रारम्भिक समिति अध्यक्ष रुपेश राना मगर, पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बाका अध्यक्ष धनबहादुर मगरलगायतले खादा ओढाएर विदाइ गरेका थिए ।

संघको केन्द्रीय टोलीले मगर समुदायको बाहुल्यता रहेको सो बस्तीमा पुगेर मगर समुदायको रहनसहन, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजबारे अध्ययन गर्ने बताइएको छ । धनकुटाको नाम्जेमा सम्पन्न संघ केन्द्रीय कार्यसमितिको दुईदिने १२औं राष्ट्रिय भेलापछि केन्द्रीय टोली अवलोकन भ्रमणका लागि सिक्किम प्रस्थान गरेको हो ।