झापा । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ । नेपालले दुवै हाफमा १-१ गोल खाएको हो । पहिलो दिन उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो दिन निराशाजनक खेल्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन् । स्ट्रेचरमा मैदानबाहिर लगेपछि उनको स्थानमा मिडफिल्डर सरु लिम्बू मैदान प्रवेश गरिन् ।आक्रमणमा केही कमजोर देखिएको नेपालले केही मौका पाए पनि डिफेन्सलाई तोड्न भने सकेन ।

३४औं मिनेटमा उज्बेकिस्तानले अग्रता लिएको थियो । उज्बेकिस्तानको हाफबाट आएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा उज्बेकिस्तानकी फरवार्डले गोल गर्दै अग्रता लिन सफल भइन् । उनको पहिलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले वन भर्सेस वन स्थितिमा बचाए पनि रिबाउन्डमा आएको प्रहार खाली पोस्टमा गोल भएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा उज्बेकिस्तानकी खेलाडीको प्रहार क्रसबारमा लगेर फर्कंदा नेपाल भाग्यमानी भएको थियो ।

दोस्रो हाफको सुरुवातमै उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो । नेपालका तीन खेलाडीलाई छक्याउँदै उज्बेकी खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् । एन्जिलाले ७१औं मिनेटमा राम्रो बचाउ गर्दै गोलअन्तर बढ्न दिइनन् ।

नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । आजै हुने दोस्रो खेलमा किर्गिस्तान र ताजिकिस्तान भिड्नेछन् । उज्बेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । हिजो भएको खेलमा उज्बेकिस्तानले ताजिकिस्तानलाई १२-० तथा नेपालले किर्गिस्तानलाई ८-२ ले पराजित गरेका थिए ।