बिर्तामोड । गतवर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको झापामा पूर्ण सरसफाइ अभियानलाई तिव्रता दिइएको छ ।

खुला दिसामुक्त घोषणापछिको समुदायको खानेपानी तथा सरसफाइको अवस्था, संस्थागत क्षेत्रमा सरसफाइको अवस्था र सरसफाइसम्बन्धी जनचेतना अझ विकसित ढंगबाट अघि बढाउन युएन ह्याबिट्याटको ग्लोबल स्यानिटेशन फण्डको साझेदारीमा झापाका तीन वटा पालिकामा सन् २०१९ का लागि नमूनाको रुपमा पूर्ण सरसफाइ अभियान थालिएको हो ।

अभियानअन्तर्गत मंगलबार बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पूर्ण सरसफाइका क्रियाकलापसम्बनधी छलफल गरिएको छ । छलफलमा विद्यालयहरुमा बाल क्लब गठन गर्ने र ती क्लबमार्फत पूर्ण सरसफाइका क्रियाकलाप अघि बढाउने प्रतिबद्धता विद्यालयका प्रतिनिधिहरुले गरेका छन् ।

बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख केशव खवासको अध्यक्षतामा आयोजित बाल क्लब गठनसम्बन्धी योजना कार्यशालामा अभियानको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता सोम आचार्य र सरसफाइ अभियानकर्मी रुद्रबहादुर न्यौपानेले पूर्ण सरसफाइ अभियानमा गर्नुपर्ने क्रियाकलापका बारे सहजीकरण गरेका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले पूर्ण सरसफाइ अभियानलाई परिणाममुखी तुल्याउन विद्यालय क्षेत्रको अहम भूमिका रहने हुँदा सहयोग पुर्याउन आग्रह गरे । कार्यक्रम संस्थाका कार्यक्रम अधिकृत अर्जुन पाठकले सञ्चालन गरेका थिए ।

यसअघि अभियान सञ्चालनमा रहेको कमल गाउँपालिकामा क्लब गठन भइ सो क्लबले क्रियाकलाप अघि बढाइसकेको छ भने गौरीगञ्ज गाउँपालिकामा पनि अभियान सुरु भइसकेको सहजकर्ता आचार्यले जानकारी दिए ।