काठमाडौँ । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरिएको छ । शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो ।

विसं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । ललितपुर महानगरपालिकाले आग्रहमा राष्ट्र बैंकले क्युप्रोनिकेल धातुबाट बनेको रु १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्काशन संख्या १० हजार थान) र चाँदीबाट बनेका रु १००० (तौल १० ग्राम, व्यास २९ एमएम, निष्काशन संख्या २५ हजार थान) र २५०० रुपैयाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्काशन संख्या १० हजार थान) निष्काशन गरेको थियो ।

राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउनुहुने वाङमय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुनुहुन्छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरुको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथ्यो ।

‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीको लागि गौरवको विषय हो’, प्रवक्ता समेत रहनुभएका निरौलाले भन्नुभयो, ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउने छ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवं सामाजिक र सांस्कृतिक निधिहरुलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार यसअघि नेपाल अधिराज्यको संविधान-२०४७ र नेपालको संविधान-२०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो । त्यसैगरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उहाँहरुको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो । त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थमन्त्रीद्वारा सिक्का अनावरण
यसैबीच महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गरी सिक्काको अनावरण गरियो । सिक्का अनावरण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै पनि सम्पदा सय वर्ष पुगेपछि पुरातात्विक सम्पदाको रुपमा लिईने नियमअनुसार जोशी आफैँ जीवित सम्पदा रहेको धारणा राख्नुभयो ।

‘जोशी स्वयंमा जीवित धरोहर हुनुहुन्छ । उहाँको चित्र अंकित सिक्का निष्काशनबाट जोशीको योगदान सम्मान गरेको हो ।यो हाम्रा लागि गौरवको विषय हो’, अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

जोशीको योगदानलाई कदर गरेर सिक्का निष्काशन गर्न पाउनु सरकारको लागि पनि गौरवको विषय रहेको पनि अर्थमन्त्री खतिवडाको भनाई रहेको छ । सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले राष्ट्रियताको भावना बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै संस्कृतिमार्फत सिंगो राष्ट्रलाई जोड्न जोशीले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको सम्मानबाट जीवित छँदा नै व्यक्तित्वको योगदान कदर गर्न संस्कार बसाउन प्रयास गरेको बताउनुभयो । जोशी सय वर्ष पुगेको अवसरमा वर्षभरि विविध कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रमअनुसार सिक्का निष्काशन भएको सत्यमोहन जोशी मूल समारोह समिति कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले बताउनुभयो । उपप्रमुख गीता सत्यालले जोशीलाई सम्मान गर्न पाउँदा सबैमा गौरवको सञ्चार भएको धारणा राख्नुभयो ।