झापा । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (बिहिबार) नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको हो । तर, फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।

पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समुह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अवसर समेत प्राप्त छ । समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २-० ले हराएको थियो । गोलरक्षक र डिफेन्डरले बारम्बार गल्ती गर्दा नेपाल पराजित हुन पुगेको थियो ।

टोलीमा १८ खेलाडी र ५ अफिसियल सहित किर्गीस्तान पुगेका मुख्य प्रशिक्षक हरि खड्काले बारम्बार कमजोर देखिएको गोलरक्षक र डिफेन्समा सुधार गर्न सकेका छैनन् । नेपाल फाइनल खेलमा सुधार गर्दै अन्तराष्ट्रिय भुमीमा ईतिहास रच्ने दाउमा हुनेछ ।

फिफा बरियतानै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेझ्दा कप आयोजना गरेको हो ।

राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८-२ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० गोल अन्तरले हारेको थियो । अन्तिम खेलमा ताजकिस्तानलाई १-० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी उनले अन्तिम खेलमा समेत एक गोल गर्न सफल भएकी थिइन् ।

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो ।