झिलझिले । झापाको शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्र भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्थानीय ७ नम्बर वडाको धौले चौकमा बुवा धनबहादुर र आमा धर्मवतीको नाममा छोराबुहारीहरु कुमार र रीता, डम्बरबहादुर र बिष्णु खालिङ्ग राईले दिएको १ कठ्ठा जग्गामा निर्माणाधीन स्वास्थ्य केन्द्रको उद्घाटन भएको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उक्त भवनको उद्घाटन गरेका हुन् । खालिङ्ग राई दम्पत्ति युकेमा बस्दै आएका छन् । आफ्नो पैतृक सम्पत्तिबाट बुवाआमाको नाममा स्वास्थ्य केन्द्रलाई जग्गा दिएको छोरा कुमार खालिङ्गले बताए । ‘बुवाआमाको इच्छा पनि गाउँघरमा स्वास्थ्य क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने थियो’, छोरा कुमारले भने, ‘आज वुवा आमाको सपना हामी सन्तानले पूरा गरिदिएका छौँ ।’

उक्त जग्गामा ४ कोठा भएको आरसीसी भवन निर्माण हुँदैछ । हालसम्म २ वटा कोठा निर्माण भएर स्थानीयले स्वास्थ्य सेवा पाउन थालेका छन् । यसअघि त्यहाँका स्थानीयबासी स्वास्थ्य सेवाका लागि झिलझिले र शिवगञ्ज जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य महिला स्वयम्सेविका नरमाया कार्कीले भनिन, ‘यहाँका हजारौँ सर्वसाधरणले अब आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाएर समय र पैसा दुवैको बचत गरे ।’

शिवसताक्षी नगरपालिका, वडा नम्बर ७ को कार्यपालिका र स्वास्थ्य कार्यलय झापाले उक्त भवन निर्माणका लागि हालसम्म १० लाख ३० हजार रुपैयाँ खर्चिसकेको छ । अब चालु वर्षको बजेटबाट निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न हुने नगरका प्रवक्ता समेत रहेका ७ नम्बर वडाका अध्यक्ष नविन ईजमले बताए । धौले चौकमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएपछि नगरको २ र ३ नम्बर वडाको पूर्वी, ६ को पश्चिमी, ८ को दक्षिणी र ७ नम्बर वडाको आधा जनसंख्या गरी कम्तिमा ५ हजार नगरबासीले स्वास्थ्य सुविधा पाउने भएका छन् ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले निर्वाचन ताका बोलेका प्रतिवद्धतालाई नगरकार्यपालिकाले नियम र नीतिसम्मत तरिकाबाट सम्बोधन भइरहेको बताए । ‘हामीले निर्वाचनताका तपाईहरुका घरघरमा मत माग्न जाँदा दिएको आश्वसन पूरा गर्दे जाँदैछौँ’, उनले भने, ‘यो अभियानमा नगरबासीको ठुलो साथ र सहयोग नगरले पाएको छ ।’

७ नम्वर वडाका अध्यक्ष ईजमको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपाल, समाजसेवीद्वय राज सुव्बा, चतुर्मान गरुुङ्ग लगायतले दाता परिवारले दिएको जग्गाका कारण हजारौँ स्थानीयले स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गरेको बताए । ७ नम्बर वडाका वडा सदस्य वीरबहादुर माझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गणेश ढुंगेलले गरेका थिए ।

जग्गादाता सम्मानित
यसैबीच आधारभूत स्वास्थ्य केन्द्रलाई १ कठ्ठा जग्गा दिने झिलझिलेका कुमार खालिङ्ग राई र उनकी पत्नी रिता खालिङ्ग राईलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, नगर उपप्रमुख भोजकुमारी नेपाल र वडा अध्यक्ष नविन ईजमले सम्मान गरेका छन् ।
आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा स्थानीय सरकार प्रमुख शेर्मा लगायतले अविर र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले भने, ‘दाता परिवारलाई हामी स्थानीय सरकार धन्यवाद दिन्छौँ । जसले दिएको जग्गामा निर्माण भएकोे भवनबाट यहाँका स्थानीयले स्वास्थ्य सेवा पाउने भएका छन् ।’