झापा । झापाको भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले सडक सामुदायिक तथा पाल्तु कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा बिहीबारदेखि पाँचदिने बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक विभा पासवानको अध्यक्षतामा भएको संक्षिप्त औपचारिक कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले शिविरको उद्घाटन गरे । शिविरमा सडक सामुदायिक कुकुरहरुलाई रेविजविरुद्धको भ्याक्सिन पनि लगाइने बताइएको छ । भदौ ३१ गतेसम्म सञ्चालन हुने शिविरमा कम्तीमा दुई सय कुकुरको बन्ध्याकरण गरिने छ ।

भद्रपुर-५ को रिवाज होटल परिसरमा शिविर आयोजना गरिएको वडा नं ५ का अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो । भद्रपुरमा यसरी शिविर चलाइएको यो पाँचौं पटक हो । २०६९ बाट भद्रपुरमा शिविर चलाइँदै आएको हार्टका संयोजक चन्द्र राईले जानकारी दिए । यस अवधिमा ६३३ कुकुरको बन्ध्याकरण गरिसकिएको छ ।