झापा । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा आयोजित नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो ।

उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा अग्रता लिएको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो । त्यसपछिको पासलाई नेपाली डिफेन्सले बुझ्न नसक्दा वन भर्सेस वनमा गोल गर्दै उज्बेकिस्तान अगाडि बढेको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता अझै बढायो । नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४औं मिनेटमा फेरि पनि उज्बेकिस्तानले उत्कृष्ट पासको नमुना देखाउँदै ३-० को अग्रता लियो ।

नेपालका लागि सावित्रा भण्डारीले ६७औं मिनेटमा गोल फर्काइन् । सरु लिम्बु र सावित्राबीच उत्कृष्ट वन-टु पासमा बढेको मुभलाई सावित्राले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै अग्रता घटाएकी थिइन् । ८६औं मिनेटमा पनि सरुको पासमा सावित्राले गोल गर्ने अवसर पाएकी थिइन् । तर बलमा राम्रो नियन्त्रण हुन नसक्दा डिफेन्सले दबाब दिँदै उनलाई प्रहार गर्ने मौका दिएनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो ।

नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि भारतको कोलकातामा भएको हिरो गोल्डकपमा म्यानमार नेपालको लागि बाधक बनेको थियो ।