पाँचथर । रानीटार गोल्डकपमा आज भएको खेलबाट आयोजक रानीटार ११ एफसी र इलामको यङ ब्वाइज इलाम सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

फिदिम नगरपालिका ७ स्थित बराजु खेल मैदानमा आजदेखि सुरु रानीटार गोल्डकपको उद्घाटन खेलमा आयोजक रानीटारले फिदिम स्पोट्रिङ क्लबलाई १-० गोलले पराजित गरेर सेमिफाइलमा प्रवेश गरेको हो । आयोजकका लागि विशाल राईले खेलको ४७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै, बिहीबार नै भएको दोस्रो खेलबाट इलामको यङ ब्वाइज क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । स्पर्धी पाँचथर जिल्ला लिग विजेता सयपत्री एफसी पाँचथरलाई ३-२ गोलले पराजित गर्दै ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । यस खेलमा यङ ब्वाइजका सविन गुरुङ गम्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच हुने खेलाडीले नगद पुरस्कार पाए ।

भोलिको खेल रेड स्टार एफसी बिर्तामोडले इलामको इलाम फुटबल क्लब र दोस्रो खेल झापाको सैनिक युथ क्लबले राँकेको नमो बुद्ध फुटबल क्लबसँग भिड्नेछ । गोल्डकपको विजेताले एक लाख र उपविजेताले नगद ५० हजार पाउनेछ । प्रतियोगिताको फाइनल खेल भदौ ३० गते हुनेछ ।