झिलझिले । झापाको शिवसताक्षी नगरमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)को पहिलो साधरणसभा दूधेमा सम्पन्न भएको छ ।

स्थानीय संयुक्त भूुूु सैनिक संघको सभाहलमा भएको सभाका अधिकांश वक्ताले अन्तर्राष्ट्रिय जगतको जस्तो शिक्षा अब नेपालका निजी विद्यालयले नक्कल नगरे सबै निजी विद्यालय धरासायी हुने बताए । नेपालको चलनचल्तीको शिक्षाले गुणस्तर सुधार गर्न नसकेको बताउँदै कार्यक्रमका वक्ताहरुले शिक्षा क्षेत्रमा विदेशीको जस्तो नक्कल नगरे शिक्षा क्षेत्रका उद्यमीको लगानी समेत डुब्ने खतरा बढेको उनीहरुको भनाइ थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) का केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ नम्बर प्रदेशका उपाध्यक्ष मिलनकुमार ढुंगाना, प्याव्सनका झापा अध्यक्ष एलपी उप्रेतीले व्यक्तिवादी चिन्तनका कारण निजी विद्यालयमा चुनौति थपिएको बताए ।

विद्यार्थी बटुल्ने नाममा विद्यालय सञ्चालक बीच नै एक अर्काप्रतिको हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै त्यसको आलोचना गरिएको छ । ‘विद्यार्थी भर्ना कार्यक्रमका बेला विद्यालय सञ्चालकबीच पानी बाराबारको स्थिति हुन्छ’, झापा प्याव्सनका अध्यक्ष एलपी उप्रेतीले भने, ‘यो भन्दा लज्जास्पद र घृणित कार्य शिक्षकले गर्ने अन्य कुनै हुन सक्दैन ।’

कार्यक्रममा मेचीनगर प्याव्सनका अध्यक्ष डम्बर रुचाल, पशुपति अंग्रेजी माविका संस्थापक चन्द्रप्रसाद खनालले शिक्षा क्षेत्रमा लागेका मान्छेले आचरण नसुधारे उनीहरुले प्रदान गर्ने शिक्षाले सकारात्मक अर्थ नराख्ने बताए । प्रिन्सिपल खनालले खानपान, रहनसहन आचर गलत छ भने विद्यार्थीले पाउने शिक्षा पनि गलत नै हुने दाबी गरे ।

शिवसताक्षी नगर व्याप्सनका अध्यक्ष अमृत तिम्सिनाको सभापतित्वमा भएको प्रथम नगर सभामा उपाध्यक्ष राम सुहाङ्गले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिगम पराजुलीले गरेका थिए । सभामा संस्थाको सांगठनिक प्रतिवेदन संस्थाका सचिव दिगम पराजुली र आर्थिक प्रतिवेदन सभाको बन्द्र सत्रले सर्वसम्मतले अनुमोदन गरेको छ ।