झापा। जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज (सोमबार) बलियो टिम कुवेतसँग खेल्दैछ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपालजित वा कम्तिमा बराबरीको नतिजा निकाल्ने योजनामा हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । कुवेतविरुद्ध नेपाल उक्त हार बिर्सन चाहन्छ । प्रतियोगितामा सुखद सुरुवात गरेको कुवेत लगातार दोस्रो जितको खोजीमा हुनेछ । कुवेतले पहिलो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिप अन्तर्गत छनोटको समूह ए मा रहेको नेपाल अंकविहिन रहदै पुछारमा रहेको छ । यस समूहमा जोर्डन शीर्ष, कुवेत दोस्रो, ताजकिस्तान तेस्रो र श्रीलंका चौंथो स्थानमा रहेका छन् ।

नेपालले कुवेतपछि असोज ३ गते ताजकिस्तान र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।