काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ७४ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।