झापा । बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुररोडबाट सोमबार साँझ हतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका व्यक्ति मकवानपुरका सनुल सारु मगर रहेको खुलेको छ । तर, प्रहरीले आधिकारिकरुपमा भने सार्वजनिक गरेको छैन ।

प्रहरीको टोलीले सोमबार साँझ मगरलाई २ थान कटुवा पेस्तोल, केही थान गोली, विष्फोटक पदार्थ र दस्तावेजसहित नियन्त्रणमा लिएको थियो । भण्डारी थरका एक व्यक्तिको घरमा करिब २ महिनादेखि मगरसहित अन्य कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीले यसअघि सोमबार नै दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने ती दुई जना नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्लास्तरका नेता हुन् । मकवानपुरका मगर भने हतियारसम्बन्धी जानकार भएको प्रहरीको भनाइ छ । झापा प्रहरीले पक्राउ तीन जनालाई आज जिल्ला अदालतमा म्याद थप गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ । अनुसन्धानका लागि म्याद थप गरेपछि सार्वजनिक गर्ने बताइएको छ ।

विप्लव कार्यकर्ता शून्य बनाउने अभियान
झापा जिल्लामा श्रृंखलाबद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि नेपाल प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गर्ने अभियान सुरु गरेका छन् । यो अभियानसँगै प्रहरीले झापामा विप्लवका कार्यकर्ता शून्य बनाउने संकल्पका साथ लागिपरेको छ ।

प्रहरीले विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र (मनिष) र जिल्ला ‘जनसरकार’ प्रमुख टीका पोखरेललाई पक्राउ गरेपछि प्रहरी अभियानको सफलता नजिक पुगेको बताइएको छ ।

झापामा प्रदेश प्रहरी
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका-४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै रहेको चिया पसलमा चिया खाइरहेका जिल्ला सेक्रेटरी मनिष र जनसरकार प्रमुख पोखरेललाई सोमबार बिहान पक्राउ गरेको थियो ।

दुवै जनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी संयुक्त प्रहरी टोलीले सोमबार साँझ बिर्तामोडबाट दुई थान हतियारसहित थप एक जना विप्लवका कार्यकर्ता पक्राउ गरेको हो ।

बाहिरबाट भित्रिँदै कार्यकर्ता
प्रहरीले झापामा एकपछि अर्का विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेपछि उनीहरुको संगठन कमजोर बन्दै गइरहेको प्रहरीको अनुमान छ । झापाका विभिन्न ठाउँमा संगठनका गतिविधि गर्दै आइरहेका इलाम, पाँचथर र ताप्लेजुका कार्यकर्तालाई यसअघि पक्राउ गर्न सफल भएको थियो ।

विप्लव कार्यकर्ता पक्राउ गर्न झापा प्रहरी सफल भएपछि जिल्लास्तरका नेता पक्राउ पर्न बाँकी थिए । सोमबार जिल्लास्तरका नेता पक्राउ परेसँगै विप्लवको झापा संगठनभित्र हलचल मच्चिएको छ । विप्लव संगठनले झापामा गतिविधि सक्रिय बनाउन अन्य जिल्लाबाट कार्यकर्ता परिचालन गरेको प्रहरीको भनाइ छ । मकवानपुरका सनुल सारु मगर पक्राउ पर्नुले पनि झापामा बाहिरबाट विप्लवका कार्यकर्ता आएर विभिन्न गतिविधि गर्दै आएको पुष्टि हुन्छ ।

झापामा विष्फोटको श्रृंखला
विप्लव समूहका कार्यकर्ताले झापा जिल्लामा श्रृंखलाबद्ध रूपमा बम विस्फोट गराउँदै आइरहेको छ । कार्यकर्ताले सहारा सहकारी, गौरदाह नगरपालिकाको गाडी, बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विस्फोट गराइसकेको छ भने भद्रपुर नगरपालिका कार्यालय परिसरभित्र प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएका थिए ।

झापाका विभिन्न स्थानमा श्रृंखलावद्ध विष्फोट गराएपछि एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लव कार्यकर्तालाई खोजी-खोजी पक्राउ गर्न थालेको हो ।