काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १(१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफमै पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गोल गरेको हो । नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए । दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको प्रयास गरे पनि माल्दिभ्सका गोलरक्षक हसन अलिफले उच्च प्रदर्शन गरेर बचाउन गरेका थिए । खेलको १३औँ मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैँले सहजै गोल गरेका थिए ।

त्यसअघि खेलको दोस्रो मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले अफसाईड दिए । रोशन दोङको फ्रिकिकमा ब्रिजेश चौधरीले गोल गरेपनि अफसाईड हुन पुगेका थिए । २०औँ मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्यो । उनको पहिलो प्रहार गोलरक्षकले बचायो । दोस्रो प्रयास गोलरक्षकले बचाईदिए । ३४ औँ मिनेटमा कप्तान हसनको बक्स बाहिरको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ४१औँ मिनेटमा मनिष डाँगीको प्रहार गोलरक्षकले सहजै बचाए ।

४९औँ मिनेटमा हसन लवको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५३औँ मिनेटमा नितिन थापाको प्रहार आकासियो । ५९औँ मिनेटमा कप्तान जया गुरुङको पासमा ब्रिजेश चौधरीको हेड पोस्टबाट थोरै बाहिरिँदा नेपाल बराबरी गर्नबाट चुक्यो । ६३औँ मिनेटमा कप्तान जया गुरुङको झन्डै २० यार्ड टाढाको प्रहारलाई गोलरक्षक हसन अलिफले मुस्किलले बचाए ।

६६औँ मिनेटमा ब्रिजेश चौधरीको पासमा मनिष डाँगीले एकल प्रयासमा पहिलो बार च्यापेर गरेको प्रहार गोलरक्षकले सहजै बचाए । ७१औँ मिनेटमा नितिन थापाको प्रहार क्रसबारमा लाग्दै फर्कदा नेपाल बराबरीबाट चुक्यो । लगातार पोस्ट आक्रमण बुनेको नेपालका लागि मनिष डाँगीले ७४औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा माल्दिभ्सले नेपालको पोस्टमा एक आक्रमण मात्रै बुन्यो ।

इन्ज्युरी समयमा ब्रिजेशको प्रयास गोल रक्षकले बचाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल १(१ गोलको बराबरीमा सकियो ।