झापा । चौधरी (थारु) समुदायको विशेष पर्वको रुपमा रहेको जितिया पर्वको अवसरमा झापाको डाँगीबारीमा शुक्रबार जिल्लास्तरीय विशेष कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारी सभा बाह्रदशी तथा हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा झापाका विभिन्न पालिकाबाट आएका थारु युवतीहरुले जातीय परम्पराअनुसार सांस्कृतिक झलक प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष सन्तोष चौधरीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाभरिका थारु कल्याणकारी सभाका पदाधिकारी, सदस्य र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले जितिया पर्व थारु समुदायको पवित्र एवम् महान चाड भए पनि केन्द्र तथा स्थानीय सरकारले त्यति महत्व नदिएको गुनासो राखेका थिए । उनीहरुले अन्य समुदायको कार्यक्रमलाई स्थानीय सरकारले बजेट विनियोजन गर्ने तर थारु समुदायलाई हेपेरै आर्थिक सहयोग नगर्ने गरेको भन्दै रोष प्रकट गरेका थिए ।

जितिया पर्व हिन्दू नारीहरुले मनाउने तीज पर्वजस्तै भएको भन्दै तीन दिनसम्म मनाइने गरेको जानकारी दिए । पहिलो दिन एकापसमा भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने, दोस्रो दिन दरझैँ मिठा खानेकुरा खाने र तेस्रो दिन थारु महिलाले व्रत बस्ने परम्परा रहेको छ ।

हिन्दू धर्मावलम्वी महिलाहरुले पतिको दीर्घायूको कामना गर्दै व्रत बस्ने गरेको भए पनि थारु समुदायका महिलाले आफ्ना बालबालिकाको सुस्वास्थ्यको कामना गर्दै सिंगो परिवारका लागि व्रत बस्ने गरेको थारु अगुवा वक्ताहरुले प्रष्ट पारेका थिए ।

संघकी सीता चौधरीले स्वागत गरेको कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशी, थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य कृष्णमाया चौधरी, राजवंशी महिला समाज केन्द्रीय अध्यक्ष सोनम राजवंशी, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, नेवा देय दबुका प्रदेश उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, थारु कल्याणकारी सभाका झापा सचिव हरिकुमार चौधरी, हल्दिबारी ७ का अध्यक्ष मित्रराज भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता विमलीलगायतले आफ्ना भनाइ राखेका थिए ।