काठमाडौं- नेपालमा जारी साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा बंगलदेशले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शनिबार समुह बी को खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हात पारेको हो । खेलको ३५ सेकेन्डमै मोहम्मद तनबीर हसनले गोलगर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले सकिएको थियो ।

दोस्रो हाफमा बंगलादेशले थप दुई गोल गर्दै सहज जित पक्का गर्यो । ७७ मिनेटमा मोहम्मद फहीम मोरशेडले गोल गर्दै अग्रता दोब्बर पारे । उनले कर्नरमा क्लियर भएर आएको बललाई पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट भली प्रहार गर्दै गोलमा परिणत गरे ।

८६ औं मिनेटमा मोहम्मद अहमद फहिमले गोल गरेपछि बंगलादेशले जित पक्का बनेको थियो । उनले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए । अब बंगलादेशले सोमबार भारतको सामना गर्नेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । समुह ए मा नेपाल भुटान र माल्दिभ्स रहेका छन् । समुह बी मा भारत, श्रीलंका र बंगलादेश छन् ।