बेलबारी । यहाँ आयोजित बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि भारत वेस्ट बंगालको रोयल क्लबले चुमेको छ । मंगलबार भएको फाइनल भिडन्तमा धरान फुटबल क्लबलाई स्तब्ध पार्दै रोयलले उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल खेलमा रोयल क्लबले धरानलाई स्तब्ध बनाउन ४-१ गोलको नतिजा निकालेको थियो । रोयलका लागि निशान लिम्बूले खेलको १०औँ र ५७औँ मिनेटमा व्यक्तिगत दुई गोल गरे भने अर्को गोल अमन थापाले ६९औँ मिनेट र सत्यम शर्माले ७२औँ मिनेटमा गोल गरेका थिए । धरानका लागि भने एकमात्र गोल ७५औँ मिनेटमा उमेश राईले गरेका थिए ।

गोल्डकपको म्यान अफ दी टुर्नामेन्ट रोयलका खेलाडी निशान लिम्बू घोषित भए । उनले नगद २५ हजार पाए । त्यस्तै, विधागततर्फ सर्वाधिक गोल गरेका निशानले नै थप १० हजार पाए । उनले ३ गोल गरेका थिए ।

फाइनल खेलको म्यान अफ दी धरानका मनोज राई घोषित भए । उनले नगद ५ हजार पाए । बेस्ट डिफेन्समा रोयलका निरज बस्नेतले नगद ७ हजार, बेस्ट गोलकिपर रोयलका किशोर गिरी घोषितहुँदै नगद ७ हजार पाउन सफल भए ।

बेस्ट मिडफिल्डमा रोयलकै आदर्श तामाङ घोषित भएर नगद ७ हजार पाउन सफल भए । बेस्ट फरवार्डमा रोयलकै श्याम सरकारले नगद ७ हजार पाए । रोयलका प्रशिक्षक कमल लिम्बू बेस्ट कोचहुँदै नगद ७ हजार पाउँदा आयोजक डाँगीहाट फुटबल क्लबका शंकर राई राइजिङ प्लेयर घोषितहुँदै नगद ७ हजारबाट पुरस्कृत भए ।

उपाधि विजेता रोयल क्लब भारतले नगद ५ लाख र ट्रफी पायो भने उपविजेताले नगद २ लाख ५० हजारमा चित्त बुझायो । विजेता तथा उपविजेता टोलीलाई संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले पुरस्कार प्रदान गरे ।