अर्जुनधारा । झापा ११ फुटबल क्लबले भारतको माने भञ्ज्याङमा आयोजित प्रतिष्ठित गोल्डकपको उपाधि रक्षा गरेको छ । बुधबार सम्पन्न चौथो माने भञ्ज्याङ गोल्डकपको उपाधि झापा ११ ले चुमेको हो ।

स्थानीय खेलमैदानमा आयोजित फाइनल खेलमा झापा ११ ले भारत दार्जीलिङको टेम्पोररी आर्मीको टिमलाई ३–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो हाफ गोलरहित खेले पनि दोस्रो हाफमा ३ गोेल सम्भव भएको हो ।

 

झापा ११ का लागि सञ्जोग राईले दोस्रो हाफको ८औँ मिनेटमा गोलको खाता खोलेका थिए । त्यस्तै रेजन माझीले १३औँ मिनेट र निशान खड्का १९औँ मिनेटमा गोल गर्दै झापा ११ को जीत निश्चित गरेका हुन् ।

१८ वटा टिमको सहभागिता रहेको गोल्डकपमा सर्वाधिक गोलकर्ता झापाकै सञ्जोग राई घोषित भए । ८ गोल गरेका उनले गोल्डेन बुट पाए भने बेस्ट प्लेयर घोषित हुँदै झापाकै निशान खड्काले गोल्डेन बल पाए । त्यस्तै, झापा ११ कै गोलकिपर राजकुमार लिम्बूले म्यान अफ दी म्याचको उपाधिसँगै ट्रफी पाए ।

नेपालबाट ४ टिम सहभागी गोल्डकपमा च्याम्पियन बनेको झापा ११ ले भारु २ लाख र ट्रफी पाएको छ ।
कार्यक्रममा नेपालकी चर्चित गायिका मेलिना राईको विशेष सांगीतिक प्रस्तुति रहेको थियो ।