अर्जुनधारा । कार्डको वर्षा भएको खेलमा आयोजक सयपत्री युवा समुहले अर्जुनधारा-१ सिस्नेमा आयोजित प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।

शुक्रबार भएको फाइनल खेलमा शिवसताक्षी युवा क्लब झिलझिलेलाई ३-२ गोलले पराजित गरेर आयोजकले उपाधि रक्षा गरेको हो । ६० मिनेटको खेलमा ९ वटा कार्ड रेफ्रीले खेलाडीलाई देखाएका थिए । जसमा ७ वटा पहेँलो र दुई वटा रातो कार्ड थियो ।

आयोजकका कप्तान सरोज कार्की दोहोरो पहेँलो कार्डपछि रेड कार्ड पाएर खेलको २०औँ मिनेटमै मैदान छाड्न बाध्य भए । त्यस्तै, शिवसताक्षीका रोहन कार्कीले पनि दोहोरो पहेँलो कार्डपछि खेलको ६०औँ मिनेटमा रेड कार्ड पाएर मैदान छाडेका थिए ।

१० खेलाडीमा सीमित भएको आयोजकका खेलाडीले थप दुई गोल गरेका थिए । यसअघि खेलको १७औँ मिनेटमा राजेश दाहालले गोल गरेर आयोजकलाई अग्रता दिलाएका थिए । त्यसपछि बबिन बोहोराले खेलको २६औँ र ४२औँ मिनेटमा थप गोल गरेका थिए ।

शिवसताक्षीका लागि रेजिन माझीले खेलको २९औँ मिनेटमा र रोहन कार्कीले खेलको ५३औँ मिनेटमा गोल गरे पनि जीतका लागि सम्भव भएन । खेलमा रोहन कार्की र सरोज कार्कीले रेड कार्ड पाएका थिए ।

विधागततर्फ आयोजकका विवेक मगर बेस्ट गोलकिपर, बेस्ट डिफेन्स राजिन सुब्बा, प्लेयर अफ दी टुर्नामेन्ट बबिन बोहोरा, राइजिङ प्लेयर चेतन घतानी, बेस्ट गोल अफ दी टुर्नामेन्ट सरोज कार्की घोषित हुँदै जनही ३ हजार पुरस्कार पाए ।

खेलको म्यान अफ दी म्याच शिवसताक्षीका रेजिन माझीले नगद ५ हजार पाए । त्यस्तै, बेस्ट मिडफिल्डर रोहन कार्की, बेस्ट स्ट्राइकर सनम भुजेल घोषितहुँदै जनही ३ हजार पुरस्कार पाउन सफल भएको खेलको बेस्ट टिम इलामको तिनघरे युवा क्लब घोषित भयो ।

विजेता सयपत्री युवा समुहले नगद ५० हजार, ट्रफी पाउँदा उपविजेता शिवसताक्षीले नगद ३० हजार पायो ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य भाष्कर काफ्ले, बुद्धशान्ति २ का वडाध्यक्ष दिलिप श्रेष्ठ, वडा सदस्य नेत्र गौतम, शहीद मानबहादुर राईका दाइ आकाश राई, आयोजक क्लबका अध्यक्ष कृष्ण लोहार, कोषाध्यक्ष श्री नेपाललगायतले प्रदान गरेका थिए ।
संघीय सांसद सुरेन्द्र कार्की (पार्थ)को प्रमुख आतिथ्यमा भएको फाइनल खेलमा नेकपाका केन्द्रीय सदस्य काफ्ले, अर्जुनधारा १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनलगायतले बोलेका थिए । अतिथि सत्कार उपसमितिका संयोजक विष्णुलाल ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन आर्थिक उपसमितिका संयोजक पवन खनालले गरेका थिए ।